व्यापारीका ठग्ने काइदा :  चितवनको एउटा रक्सी उद्योगबाट १२ लाख ५८ हजार लिटर बियर ‘उड्यो’

 चैत २९, २०७५ शुक्रबार २०:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – चितवनमा रहेको एउटा रक्सी उद्योगले प्याकिङ गर्ने क्रममा १२ लाख ५८ हजार लिटर रक्सी नष्ट भएको भन्दै सरकारबाट १४ करोड ४७ लाख रुपैयाँ अन्तःशुल्क मिनाहा लिएको खुलासा भएको छ । 

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्तरिक राजश्व कार्यालय भरतपुरअन्तर्गत रहेको एक रक्सी उद्योगले कानुनविपरीत आफूले उत्पादन गरेको बियरमा जर्ती (उडेर वा टुटफुट भएर नष्ट हुने) दाबी गर्दै अन्तःशुल्क कर मिनाहा लिएको खुलेको हो ।  

अन्तःशुल्क नियमावली, २०५९ को नियम २३(क) मा बियर उत्पादन गर्ने उद्योगलाई तयारी बोतलबन्दी गर्दा फ्लोमिटरले देखाएको परिमाणभन्दा बोतलबन्दीपछि बोतल गणनाबाट देखाएको मौज्दातकमी भएमा बढीमा १.५ प्रतिशतसम्म र पाश्चाराइजेसन, प्याकेजिङ तथा गोदाम भण्डारण गर्दा टुटफुट बियरको भौतिक परीक्षण गर्दा बढीमा २ प्रतिशतसम्म मिनाहा दिन सक्ने व्यवस्था छ ।

तर आन्तरिक राजस्व कार्यालय, भरतपुर अन्तर्गतको एक बियर उद्योगले फ्लोमिटर बिग्रिएको अवस्थामा समेत पाश्चाराइजेसन र प्याकिङ्गतर्फ २ प्रतिशतभन्दा बढी १२ लाख ५८ हजार लिटर बढी जर्ती दाबी गरी प्रतिलिटर ११५ रुपैयाँले हुने १४ करोड ४७ लाख रुपैयाँ अन्तःशुल्क लिएको छ ।

यो नियमविपरीत र करछली भएकाे भन्दै महालेखा परीक्षकको कार्यालयले कर निर्धारण गरी असुल गर्न सरकारलाई सुझाव दिएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया