नापीका कर्मचारीप्रति मन्त्री अर्यालको व्यङ्ग्य : के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई

 चैत ३०, २०७५ शनिबार ६:५३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – ‘के भनाैँ र खै तिमी हाँस है, मै बसौँला रोई ।’ भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुग्नु भएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गर्नुभयो । 

नापी कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको असहाय तथा जेष्ठ नागरिक र स्तनपान कक्षको सेवाको उद्घाटनसमेत गर्दै उहाँले मालपोत, नापी र भूमि सुधार कार्यालयमा हुने व्यापक भ्रष्टाचारले गीतमा भनेजस्तै अवस्था आएको बताउनु भएको हो ।

जताततै मालपोत, नापी र भूमिसुधार कार्यालय भ्रष्टको अखडा भएको चर्चा चलिरहँदा आफ्नो शीर निहुरिएको बताउँदै उहाँले गरिब, दुःखी नागरिकको पैसा भ्रष्टाचार गर्नु गलत भएको भन्दै उहाँले भन्नुभयो, ‘मान्छे मरेर जाँदा कात्रोमा खल्ती हुँदैन, जीवन जिउन साह्रै निकृष्ट हुनु पर्दैन ।’ 

मन्त्री अर्यालले पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको बताउँदै केही रुपमा भएका कमजोरीमाथि क्लिन भए पनि तलबाट गिज्याउने काम भइरहेको उहाँको भनाइ थियो । 

मन्त्रालय मालपोत, नापीमा भइरहेका बदमासी सिस्टमबाटै अन्त्य गर्न लागिपरेको बताउँदै उहाँले कर्मचारीलाई गाली गरेर मात्र होइन पूर्ण रुपमा सिस्टमबाट नै डिजिटल प्रविधिमा सबै सेवालाई ढाल्न लागिपरेका बताउनुभयो । 

मन्त्री अर्यालले डिजिटल सेवाको सुरुआत कलंकीबाट नमुना कार्यालय बनाउन सुरु गरिएको भन्दै उहाँले राजस्वमा हुने चुहावट बन्द गर्ने, सुशासन कायम हुने र नागरिकले सहज रूपमा सेवा प्राप्त हुने भनाई राख्नुभयो । मन्त्री अर्यालले अबको एक वर्षमा देशैभरका मालपोत र नापी कार्यालयलाई पूर्ण रुपमा प्रविधि मैत्री बनाउने बताउदै डेढ वर्षमा स्थानीय तहलाई हस्तान्तरण गर्दा प्रविधिसहितको सेवा हस्तान्तरण गरिने भनाई राख्नुभयो । 

मालपोत, नापी, भूमिसुधारलाई बिचौलियामुक्त कार्यालय बनाउन लागेको बताउँदै उहाँले सेवाग्राहीबाहेक अन्य व्यक्तिलाई कार्यालय हाताभित्र प्रवेश निषेध गरेर सेवाग्राहीमुखी सेवा दिन मन्त्रालय लागेको भनाइ राख्नुभयो । 

कार्यक्रममा नापी कार्यालय भक्तपुरका प्रमुख ज्ञानेन्द्रकुमार विष्टले अनाधिकृत व्यक्तिको प्रवेश रोक्न डोरलक सिस्टम अपनाइएको, डिजिटल रुपमा सेवा दिइएको, दोहोरो स्क्रिन डिस्प्लेमार्फत कम्प्युटर सेवा दिइएको, टोकन प्रणाली मार्फत सेवा दिइएको जानकारी दिनुभयो । 

कार्यक्रममा मालपोत कार्यालय भक्तपुरका प्रमुख ध्रुवप्रसाद कोइरालाले कार्यालयमा भइरहेको सेवा तथा समस्याका बारेमा मन्त्री अर्याललाई जानकारी गराउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट लगायतले सेवाग्राहीलाई सहज सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

 


 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया