साेलुखुम्बुमा होटल एसोसिएशनको नाममा पर्यटकसँग रकम लिनेलाई पक्राउ गर्न प्रशासनकाे आदेश

 चैत ३०, २०७५ शनिबार १३:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सोललुखुम्बु– सोलुखुम्बको खुम्बु क्षेत्रमा होटल एसोसियशनको नाममा पर्यटकसगँ रकम लिने व्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रसाशन कार्यालय सोलुखुम्बुले आदेश दिएको छ ।

खुम्बु  क्षेत्रमा आउने पर्यटकहरुलाई कोठा भाडाको नाममा एसोसियशनले रकम लिने क्रम नरोकिएको गुनासो व्यापक बढेपछि प्रशासनले पक्राउ गर्न आदेश दिएको हो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले होटलले व्यक्तिगतरुपमा कोठा भाडा लिन पाउने भए पनि कुनै सघं, सगंठन दर्ता गरी रकम लिनु गैरकानुनी कार्य भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रानाका अनुसार, एक हप्ताभित्र एसोसियशनका सम्बन्धित व्यक्ति जिल्ला प्रसाशन कार्यलयमा उपस्थित हुन समय दिए पनि समयको बेवास्ता गर्दै रकम संकलनको कार्य नरोकिएकाले पक्राउ गर्न प्रशासनले आदेश दिएको हो । 

खुम्बु क्षेत्रमा केही समयदेखि होटल एसोसियशनले कोठा भाडाको नाममा पर्यटकहरुबाट रकम लिँदै आएका छन् । पर्यटकहरुसगँ मनोमानी तवरले रकम लिँदा नेपालको समग्र पर्यटन क्षेत्रमा समेत असर पर्ने भएकाले यसलाई नियमन गर्न प्रशासन लागिपरेको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ ।

उनीहरुले सामान्य कोठाका लागि ५ सय र बाथरुमसहितको कोठाका लागि एक हजार रुपैयाँ लिँदै आएका छन् । मनोमानी रुपमा रकम लिने काम अहिले पनि जारी रहेको खुम्बु पासाङ ल्हामु गाउँकार्यपालिका सदस्य उमा बराइलीले बताउनुभयो । 

केही समयअघि काउन्टर नै खडा गरेर होटल एसोसिएशनले पर्यटकसगँ रकम लिँदैै आएको भए पनि उक्त काउन्टर जिल्ला प्रसाशन कार्यालयले भत्काए पछि अहिले होटलमै पुगेर रकम लिइरहेको बताइएको छ ।

रकम असुलीमा स्थानीय जनप्रतिनिधिहरुको समेत संलग्नता देखिएको खुम्बु क्षेत्र भ्रमणमा आउने पदप्रदर्शकदेखि पर्यटकले बताउँदै आएका छन् ।     

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया