विश्वकप फुटबल : नकआउट चरणमा कसले कोसँग खेल्ने ?

 असार १५, २०७५ शुक्रबार ८:५९:२९ | एजेन्सी
unn.prixa.net

विश्वकप फुटबलको समूह चरणका खेल सकिएका छन् । यससँगै १६ टिम नकआउट चरणमा पुगेका छन् भने १६ टिम घर फर्किएका छन् । नकआउट चरणका खेल शनिबारदेखि सुरु हुँदैछन् ।

नकआउट चरणको पहिलो खेलमा शनिबार फ्रान्स र अर्जेन्टिना खेल्नेछन् । समूह सीको विजेता फ्रान्सले समूह डीको उपविजेता अर्जेन्टिनासँग खेल्ने भएको हो । फ्रान्स समूूह चरणमा सहज जित हात पार्दै नकआउट चरणमा पुगेको हो भने अर्जेन्टिना मुश्किलले समूह उपविजेता बन्न सफल भएको हो । यो खेल शनिबार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

शनिबार राति पौने १२ बजे समूूह ए को विजेता उरुग्वे र समूूह बीको उपविजेता पोर्चुगल खेल्नेछन् । उरुग्वे समूूह चरणका सबै खेल जित्दै ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुुग्दा पोर्चुगल भने ५ अंकका साथ समूहको उपविजेता बनेको थियो । उसले समूूह चरणमा १ खेलमा जित र २ मा बराबरी खेलेको थियो ।

यस्तै, आइतबार राति समूह बीको विजेता स्पेनले समूह एको उपविजेता घरेलु टोली रुससँग खेल्नेछ । प्रतियोगिता सुरु हुनु अघिसम्म धेरैले औषत टिम मात्र मानेको रुसले समूह चरणमा गतिलो खेल प्रदर्शन गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो । यो खेल आइतबार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

आइतबार राति नै समूह सीको उपविजेता डेनमार्क र समूह डीको विजेता क्रोएशिया खेल्नेछन् । यो खेल राति पौने १२ बजे सुरु हुनेछ ।

समूह ईको विजेता ब्राजिलले समूह एफको उपविजेता मेक्सिकोसँग सोमबार खेल्नेछ । खेल राती पौने ८ बजेपछि शुरु हुनेछ । 

सोमबार नै राती पौने १२ बजेपछि सुरु हुने अर्को खेलमा समूह जीको विजेता बेल्जियम र समूह एचको उपविजेता जापान खेल्नेछन् ।

मंगलबारको पहिलो खेलमा समूह एफको विजेता स्वीडेन र समूह ई को उपविजेता स्वीट्जरल्याण्ड आमनेसामने हुनेछन् । खेल राति पौने ८ बजेपछि शुरु हुनेछ ।

अन्तिम प्रिक्वार्टरफाइनलमा समूह एचको विजेता कोलम्बिया र समूह जीको उपविजेता इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल मंगलबार राति पौने १२ बजेपछि सुरु हुनेछ ।

प्रिक्वार्टरफाइनलबाट ८ टिम बाहिरिनेछन् भने ८ टिम क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया