वर्ष २०७५ ले गुमाएका कलाकार तथा संगीतकार

 चैत ३०, २०७५ शनिबार १३:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ–वर्ष २०७५ सुरु भएसँगै चलचित्र क्षेत्रदेखि साङ्गीतिक बजारमा धेरै नयाँ अनुहार भित्रिँदा केही पुराना अनुहार भने सदाका लागि बिदा भए । २०७५ सालमा नेपाली कला क्षेत्रले केही अग्रज व्यक्तित्वलाई गुमायो । 

चलचित्र नगरीका वरिष्ठ कलाकार भीम बहादुर थापा, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार गणेश मुनाल, वरिष्ठ कलाकार बीएस राणा, अग्रज संगीतकार तथा गायक कमल क्षेत्री लाई नेपाली कला क्षेत्रले गुमायो । 

भीमबहादुर थापा

वरिष्ठ कलाकार भीमबहादुर थापाको २०७५ जेष्ठ २९ गते मंगलबार राति २ बजे मैतिदेवीमा रहेको आफ्नै निवासमा निधन भयो । उनको ९२ वर्षको उमेरमा निधन भएको हो  । स्वर्गीय थापा निर्देशक दीपाश्री निरौलाका ‘धर्म पिता’ हुन् । सेनानी थापाको जन्म वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामीडाँडामा भएको थियो । 

उनले सन् १९४२ मा ब्रिटिश आर्मीमा भर्ना भई सन् १९४५ को दोस्रो विश्वयुद्धमा समेत लडेका थिए । दोस्रो विश्वयुद्धको समाप्तिपछि वीरताको कदरस्वरुप प्रदान गरिएको डिफेन्स मेडल, जनरल सर्भिस, ब्रह्मास्टारजस्ता तक्मा छातीमा लगाएर त्यसबेलाको २–३ हजार भारु बोकेर उनी गाउँ फर्किएका थिए ।

नेपाल आर्मीको मेजरसम्मको पदमा पुगेका स्वर्गीय थापाले उमेर हकका कारण वि.सं २०३९ सालमा जागिरबाट अवकाश पाएका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिँदै सम्मान प्रकट गरेको थियो । थापाले ब्रिटिश र नेपाल आर्मीको गरी १४ वटा मानपदक, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्टजस्ता सम्मानप्राप्त गरेका थिए । 

उनले वि.सं २०४१ सालमा निर्माण भएको चलचित्र ‘के घर के डेरा’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेका थिए । उनले ६७ वटा चलचित्र, डेढ सय बढी टेलिफिल्म र ५० भन्दा बढी विज्ञापनमा काम गरेका थिए भने आधादर्जन भन्दा बढी गीतमा स्वरसमेत दिएका थिए ।

रामकेशर बोगटी

यस्तै चलचित्र नगरीका लागि २०७५ असोज २३ गते मंगलबार कालो दिन बन्न पुग्यो । त्यसदिन चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई चलचित्र नगरीले सधैंका लागि गुमाउनु पर्यो । ५८ वर्षीय बोगटीको बिजुलीको पोलले थिचेर निधन भएको हो । आफ्नै घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर उनको निधन भएको थियो । 

टीकाथलीस्थित आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै गाडी रोकेर रुख काटेको हेर्न पुगेका थिए । विपरीत दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको बिजुलीको पोलमा रुख ढल्यो । रुखलाई बिजुलीको पोलले धान्न नसकेपछि उक्त पोल पनि ढल्यो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेर उनी घाइते भएका थिए । उपचारका लागि बी एण्ड बी अस्पताल लैजाँदै गर्दा उनको बाटैमा निधन भएको थियो ।

उनले 'सपथ', 'दशगजा', 'गङ्गाजल', 'मैदान', 'धर्मा', 'अपराधी' जस्ता कयौं चलचित्रमा अभिनय गरेका छन् । 

गणेश मुनाल

वर्ष २०७५ मा चलचित्र नगरीले गुमाएका अर्का वरिष्ठ कलाकार हुन्, स्वर्गीय गणेश मुनाल । उनको २०७५ माघ ७ गते सोमबार उपचारका क्रममा निधन भएको थियो । दमका बिरामी उनी वीर अस्पतालमा उपचाररत थिए । 

उनी दमका कारण लामो समयदेखि अस्वस्थ  थिए । मुनाल काठमाण्डौका स्थायी बासिन्दा थिए । उनले नेपाली चलचित्र 'लभ लभ लभ', 'एक पल', 'सेतो बाघ', 'शिरीषको फूल', 'दिदीभाइ', 'मिस्टर डन' जस्ता चलचित्रहरुमा अभिनय गरेका थिए । उनी अभिनित पछिल्लो चलचित्र 'गोपी' थियो, जुन गएको माघ १८ गतेबाट प्रदर्शनमा आएको थियो ।  

उनले दिपक–दीपाको हास्य टेलिश्रृङ्खला 'तितो सत्य' मा लामो समय अभिनय गरेका थिए भने अन्य थुप्रै टेलिसिरियलमा पनि उनले अभिनय गरेका थिए । उनी आफ्नो आवाजका कारण पनि दर्शकमाझ लोकप्रिय छन् । 

बी एस राणा

यस्तै २०७५ माघ १८ गते शुक्रबार पनि कला क्षेत्रले अर्को क्षति बेहोर्यो । शुक्रबारका दिन वरिष्ठ कलाकार बी एस राणाको निधन भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही हप्तादेखि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । ७८ बर्षको उमेरमा निधन भएका उनको उपचारको क्रममा मुटुमा पनि समस्या देखिएको थियो । 

वर्ष २०४१ मा चलचित्र 'अन्याय' बाट सिनेमामा डेब्यू गरेका उनले ‘दक्षिणा', 'कोसेली', 'चिनो', 'दुई थोपा आँशु', 'नेपाली बाबु', 'करोडपति', 'दर्पण छाँया २', 'सेतो बाघ', 'हवल्दार सुन्तली', 'काफल पाक्यो', 'सम्बोधन', 'साथी म तिम्रो', 'आई एम सरी', 'कसले चोर्‍याे मेरो मन', 'दासढुंगा', 'बसन्ती' लगायत सयभन्दा बढी सिनेमामा काम गरेका छन् । यसका साथै उनले केही टेलिसिरियलहरुमा पनि अभिनय गरेका थिए ।

कमल क्षेत्री

यस्तै २०७५ साल चैत्र २६ गते अग्रज संगीतकार तथा गायक कमल क्षेत्रीको ७७ वर्षको उमेरमा निधन भयो । लामो समयदेखि बिरामी रहेका क्षेत्रीको २६ गते मंगलबार राति झण्डै १२ बजे निधन भएको थियो । 

संगीतविज्ञको परिचय बनाएका उनले शास्त्रीय संगीतमा ज्ञान हासिल गरेका थिए । उनी  २०२६ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत रहेका थिए । संगीतकार क्षेत्रीको धेरै गीति नाटकमा संगीत गरेका छन् । उनीद्वारा संगीतबद्ध केही गीति नाटक काठमाण्डौस्थित राष्ट्रिय नाचघरमा हाल प्रदर्शन भइरहेका छन् । 

संगीतकार क्षेत्रीले लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘मुनामदन’ मा सहायक संगीत निर्देशन गरेका थिए । त्यस गीतमा उनको स्वर समेत सुन्न सकिन्छ । क्षेत्रीले 'शिव ताण्डव नृत्य नाटिका' को संगीत गर्नुका साथै 'गगनभरिको ताराको टिलपिल टिपेर', 'सुख खोजेर भेटिने भए चुपचाप मरिदिन्थे' लगायत गीतमा संगीत भरेका भरेका छन् ।

संगीतकार क्षेत्रीले ‘रागहरुको साँचो’ नामक पुस्त समेत प्रकाशन गरेका थिए । त्यस पुस्तकमा शास्त्रीय रागहरूको विषयमा चर्चा गरिएको छ ।

 – उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया