नेपालले दियो यूएईलाई २ सय ४८ रनको लक्ष्य, चौहानले डेब्यूमै अर्धशतक बनाए

 चैत ३०, २०७५ शनिबार ११:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -आइसीसी यू–१९ विश्वकपको एशिया छनोट अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले सबै विकेट गुमाउँदै २ सय ४७ रन बनाएको छ ।

टस हारेर ब्याटिङको निम्ता पाएको नेपालका लागि हरिबहादुर चौहानले डेब्यू खेलमा नै अर्धशतक (६७ रन) बनाएका छन् । त्यस्तै भीम सार्कीले ५३, रित गौतमले ४४ रन र आशिफ शेखले २७ रनको योगदान दिए ।

यूएईका लागि रिषभ मुखर्जीले सर्वाधिक ४ विकेट लिँदा मुहम्मद फराजुद्दिनले ३ विकेट लिए । त्यस्तै आरोन बेन्यामिन, अलिशान शरार्फ र पलानियापन मियप्पनले समान १-१ विकेट लिए । यूएईका आर्यन लाक्राले विकेट नलिए पनि १० ओभरको स्पेलमा १ मेडन राख्दै जम्मा १७ रन दिए ।  

पहिलो पटक यू–१९ टिममा स्थान बनाएका चितवनका हरिले यूएईविरुद्ध पाएको मौकालाई सदुपयोग गर्दै नटआउट हुँदे ७४ बलमा ६७ रन बनाए । उनले ७ वटा चौका प्रहार गरे । नेपाली टिम कठिन स्थितिमा रहेको बेला क्रिजमा आएका हरिले भीम सार्कीसँग ९२ रनको साझेदारी गरेका थिए ।

घरेलु क्रिकेटमा आफूलाई प्रमाणित गरिसकेका हरिले प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउनुका साथै ह्याट्रिक लिने खेलाडी बनेका थिए । यसपटक प्रशिक्षक विनोद दासले उनको क्षमताको कदर र उनले गरेको प्रदर्शनका आधारमा टिममा राखेका हुन् । सिंगापुरविरुद्धको खेलमा उनी बेन्चमा रहेपछि यूएईविरुद्ध राम्रो ब्याटिङ लाइनअप बनाउन प्रशिक्षक दाशले उनलाई मौका दिएका हुन् ।

२ सय ४८ रनको लक्ष्य पाएको यूएई केही बेरमा नेपालविरुद्ध ब्याटिङमा उत्रँदैछ । 

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया