ठूलो संख्यामा युवाहरु बिदेसिनुमा नेपाली कांग्रेस जिम्मेवार छ: पूर्व प्रधानमन्त्री खनाल

 चैत ३०, २०७५ शनिबार १५:२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु बिदेसिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाउनुभएको छ । 

काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ले नयाँ वर्षको सन्दर्भमा शनिबार भुइँखेलमा गरेको कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति बिदेसिन बाध्य भएको बताउनुभएको हो ।

२०४६ साल यता पटक पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउँदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौँ भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन ? पटक पटक बहुमत प्राप्त भएको होइन । तर के गर्नुभो ? सारा देशलाई गरिबीमा डुबाउनुभयो । सारा देशमा बेरोजगारीमा डुबाउनु भो । आज झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भइरहेका छन् । यो बाध्यता खडा गर्‍याे कसले? नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु ।’

पछिल्लो समय पूर्वाधार निर्माण, साधन स्रोतको विकास तथा जलस्रोतको विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्ने काम भएको भन्दै उहाँले सरकारलाई असफल पार्न गरिएका षडयन्त्रविरुद्ध दृढताका साथ उभिनुपर्नेमा जोड दिनुभयो। पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै उहाँले त्यस किसिमको षडयन्त्रविरुद्ध दृढताका साथ उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरको शान्ति सुरक्षा कायम गर्दै सभा स्वच्छ, हराभरा बनाउनका लागि विशेष अभियान सुरु गरिएको बताउनुभयो ।

उहाँले सीसी क्यामेरामार्फत आपराधिक गतिविधि मात्रै नभइ नगरलाई फोहर बनाउनेहरुको पनि निगरानी गरिने र उनीहरुलाई फोटोसहित सार्वजनिक अभिनन्दन गर्ने कार्यक्रम महानगरले अघि सारेको बताउनुभयो ।

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गीले ढल निकास, खानेपानी, विद्युत लगायतलाई महानगर मातहत नराखेसम्म महानगरको सम्मुन्नत विकास गर्न नसकिने बताउनुभयो ।

कार्यक्रममा नागरिकका लागि नि:शुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । वडा नम्बर १५ ले जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि वार्षिक १२ लाख रुपैयाँ दिने भएको हो । सोही कार्यक्रमको सुरुवात स्वरुप कार्यक्रममा दुई जना वृद्धवृद्धालाई निशुल्क स्वास्थ्य परीक्षणको परिचयपत्र हस्तान्तरण गरिएको थियो ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया