भूकम्पपीडित पाँच हजार, घर बनाउने डेढ सय मात्रै

 चैत ३०, २०७५ शनिबार २०:३९:४८ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतमा विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएका निजी आवास निर्माण कार्यले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । 
     
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पर्वतले आयोजना गरेको पुननिर्माण जिल्ला समन्वय समितिको दोस्रो बैठकमा अझै पनि पुन निर्माणले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । चैत्रको अन्तिम सातासम्म मापदण्ड अनुसार निजी आवास सम्पन्न गरेर तेस्रो किस्ता अनुदान बुझ्नेको संख्या डेढ सय मात्रै पुगेको छ । 

बैठकमा दिएको जानकारी अनुसार मापदण्ड अनुसार निजी आवास पूरा गरी तेस्रो किस्ता अनुदान लिने लाभग्राहीको संख्या जम्मा एक सय ५४ पुगेको हो ।  भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका ५ हजार २ सय ६९ जना रहेका छन । २ हजार ४ सय ३४ जनाले दोस्रो किस्ता बुझिसकेका छन् । ४ हजार ८ सय ९१ जनाले पहिलो किस्ताको रकम बुझेका थिए ।

आयोजनाका अनुसार सबैभन्दा बढी मोदी गाउँपालिकामा ४९ जनाले तेस्रो किस्ता बुझेका छन भने कुस्मा नगरपालिकामा र जलजला गाउँपालिकामा २८ जनाले तेस्रो किस्ता बुझेका छन् । 

भूकम्पले सबैभन्दा बढी क्षति पुगेको बिहादी गाउँपालिकामा २५ जना दोस्रो धेरै क्षति पुगेको पैंयु गाउँपालिकामा दुई जनाले मात्रै अनुदान बुझेका छन् ।  फलेबास नगरपालिकामा  सात जना र महाशिला गाउँपालिकामा १५ जनाले अनुदान बुझेका छन् । तेस्रो किस्ताका लागि रकम माग गरे पनि मापदण्ड पूरा नगरेका ४ सय ५३ जना लाभग्राहीलाई संरचना सुधारका लागि पठाइएको छ । 

त्यसमध्ये ३ सय ४१ जनाले मापदण्ड सुधारको चरणमा रहेका र १ सय १२  भूकम्पपीडितका संरचना सुधार गर्न नसक्दा तेस्रो किस्ता अनुदान पाउनबाट बञ्चित भएका छन् । 

आयोजना प्रमुख रामाशिष साहका अनुसार धेरै निजी  आवास निर्माण सम्पन्न भए पनि मापदण्ड पूरा गर्न नसकेका कारण तेस्रो किस्ता दिन नसकिएको हो । ‘धेरै घर सम्पन्न भएका छन् तर प्राधिकरणको भूकम्प प्रतिरोधी मापदण्ड पूरा गर्न सकेका छैनन्’  उहाँले भन्नुभयाे, ‘मापदण्ड पूरा नगरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीलाई मापदण्ड पूरा गरेर आउन आग्रह गर्दै फाइल फिर्ता पठाएका छाैँ ।’ 

बैठकमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै पनि वाहनामा निर्माणको काममा ढिलाइ नगर्न निर्देशन दिदै अनुदान लिने प्रक्रियामा झण्झट, प्राविधिक अभाव र जनशक्तिको अभाव देखाउनुभन्दा कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ जनप्रतिनिधिहरु लाग्न जरुरी रहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया