राजमार्गमा पहिरो : न खाने ठेगान, न जाने ठेगान

 असार १५, २०७५ शुक्रबार ११:३६:४६ | दयाराम आचार्य
unn.prixa.net

घाम र जामले हत्तु भएका हजारौं यात्रुको ताँती सडकभरी छ । केही अलि परसम्म पुग्छन् तर निन्याउरो मुख लगाएर फर्किन्छन् । बाटो कतिबेला खुल्छ भन्ने अत्तोपत्तो छैन । केहीले प्रहरी तथा सडक कार्यालयका चिनेजानेकालाई फोन गरेर बाटो खुल्ने समय सोध्थे पनि । तर यतिबेलामा बाटो खुल्छ अरे भनेको सुन्दा अरुलाई आशा हैन रिस उठ्थ्यो किनकी बाटो खुल्ने आँकलन गरिएको समय धेरैपटक गुज्रेको थियो ।

सडक बन्दको बन्दै थियो । निराश भएर गाडीबाट निस्कनु र छिर्नु बाहेक अरु विकल्प छैन  । घडीले दिउँसोको दुई बजाएको थियो । मुग्लिन भन्दा ४ किलोमिटर दुरीको चारकिलो भन्ने ठाउँमा पहिरो गएपछि राति ३ बजेतिरदेखि गाडी चल्न सकेका थिएनन् । घण्टौंको जाम, गाडीभित्रको उकुसमुकुस र बाहिरको गर्मीका कारण यात्रुको बिचल्ली थियो ।

झण्डै १२ घण्टादेखि सडकको सडक हुनुपर्दा यात्रुका ओठ कलेंटी परेका छन् । केही सडककै छेउमा सुस्ताइरहेका थिए । कोही टक्र्याकटुक्रुक परेर बसेका थिए । बालबालिका, शिशुका आमा र बृद्धबृद्धा बढी प्रभावित देखिन्थे । बिरामी बोकेका एम्बुलेन्स हुन वा बेहुली लिन हिंडेका गाडी सबै अलपत्र थिए ।

बिहानै दुई ठाउँमा खसेको पहिरो समयमा पहिरो पन्छाउन नसक्दा दुवैतर्फ झण्डै झण्डै ५ किलोमिटर गाडीको लाइन पुगेको थियो ।

एम्बुलेन्समा बिरामीलाई सास्ती

गाडीको लाइनमा रहेका एम्बलेन्स अघि बढ्नसक्ने अवस्था थिएन । एम्वुलेन्समा रहेका बिरामीका आफन्तको  पीडा अनुहारमा प्रष्टै देखिन्थ्यो । २०–२२ वर्षकी एक  युवतीले  एम्बुलेन्सबाट झरेर एम्बुलेन्सलाई कटाउन प्रहरीलाई हारगुहार गरिन् । तर प्रहरीले केही गर्न नसक्ने बताएपछि उनी आक्रोशित हुँदै एम्बुलेन्स भएको ठाउँमै फर्किइन् । अव्यवस्थित रुपमा सडक लेन मिचेर राखिका मोटरसाईकल र गाडीका कारण जाम खुल्नासाथ एम्बुलेन्सलाई अघि पठाउन सक्ने अवस्था पनि थिएन । 

काखे शिशु भएका आमाहरु शिशुलाई दुध खुवाएर फुल्याउने प्रयत्न गरिरहेका थिए । यात्रुलाई शौचका लागि पनि समस्या परेको थियो ।

सडक अवरुद्ध भएर समयमा गन्तव्य पुग्न नसकेका हजारौं यात्रुको बाध्यतालाई केही ब्यापारीले कमाउने उपयुक्त मौकाका रुपमा प्रयोग गरेका थिए । अलि पर रहेका पसलमा अरुबेला १५ रुपैयामा पाउने चाउचाउ ३० रुपैयाँ र अरुबेला २० रुपैयाँको पानीलाई ३५ रुपैयासम्ममा विक्रि भइरहेको थियो । जति भनेपनि किन्नुको विकल्प भोकै बस्नु मात्र थियो ।

नवलपुरका हिरामणी चौधरीले काठमाडौ लाँदै गरेको तरकारीको क्यारेटले भरिएको पिकअप भ्यान पनि त्यहिँ रोकिएको थियो । बिहानै काठमाडौ पुर्याउँला भनेर ल्याएको तरकारी दिउँसोको घामले सुकाएको थियो । तकारी सुकेर नाश हुने सम्भावना बढीरहेकाले हिरामणी घरिघरि भ्यानमाथि चढेर तरकारीले भरिएका क्रेट हेरिरहनुभएको थियो ।

नारायणगढ –मुग्लिन सडकको काम सकिएकाले अब सुविस्तासँग ओहोरदोहोर गर्न पाइन्छ भन्ने आश गरेकालाई दिनहुँजसो जाने पहिरोले हैरान बनाएको छ । वर्षाको समयमा पहिरो जाने सम्भावना झनै धेरै रहेको छ । पहिरो रोक्न अहिलेको अहिल्यै नसकिएला तर पहिरो पन्छाउने उपकरण सहितको तयारी पर्याप्त मात्रामा गर्न सकेपनि यसरि घण्टौंसम्म यात्रुले सास्ती ब्यहोर्नुपर्ने थिएन ।  
 

अन्तिम अपडेट: चैत १, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • sunita bhusal sapkota

    July 2, 2018, 6:28 p.m.

    तितो यर्थात र हामि नेपालीले दैनिक रुपमा भोग्नु परेको सास्ती अबत विकल्प खोज्नु पर्ने होईन र सरकार । सधैँ समस्याका समाचार मात्रै लेख्नु पर्ने राजमार्ग ।

  •  0 Reply

तपाईको प्रतिक्रिया