साली भेना र देवर भाउजूले एक अर्कालाई सिस्नु पानी दलेर मनाए विसु पर्व

 बैशाख १, २०७६ आइतबार १३:४:८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटी जिल्लाका विभिन्न ठाउँमा सिस्नु दलेर नयाँ वर्ष मनाइँदैछ । डोटी तथा आसपासका जिल्लाबासीहरु वैशाख एक गते बिहानैदेखि सिस्नु लगाउँदै विसु पर्व अर्थात नयाँ वर्ष मनाइ रहेका छन् । 

विषेशगरी नयाँ वर्षका दिन देवर भाउजू तथा साली भेनाले एक अर्कालाई सिस्नु पानी लगाउने गर्छन् । दिनभरी रमाएर बेलुकी करिब  ५ बजेपछि सबैजना एकै ठाउँमा भेला भइ डेउडा खेल्ने तथा रमाइलो गरिने चलनलाई यो क्षेत्रमा विसुपर्व मनाउने भनिन्छ ।

वैशाख १ गतेका दिन सिस्नु पानी लगाएमा वर्षभरी कुनै पनि रोग नलाग्ने मान्यता यो क्षेत्रमा रहिआएको छ । यसै मान्यताअनुसार एक आपसमा सिस्नु दल्ने चलन रहेको दिपायल गैराका स्थानीय ६२ वर्षिय रामबहादुर विकले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सिस्नु पानीले विभिन्न रोगहरु लाग्न नदिने भएकाले पनि आजको दिन सबैले अनिवार्य लगाउनु पर्छ, यस्ले शरीरमा हुने सिस्नेडी भन्ने रोग पनि निको पार्छ ।’

कामको खोजीमा भारतका विभिन्न ठाउँमा काम गर्न गएकाहरु पनि घर फर्किने गरेको अर्का स्थानीय सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओल्के मरौला भनी मनाउनेु र विसुपर्व बाँचौला भनेर मनाउने भएकाले पनि विसुपर्वलाई डोटीलगायत सुदूपश्चिमका अन्य पहाडी जिल्लामा दशै‌ं तिहारभन्दा बढी महत्वकासाथ मनाइन्छ ।’

बिहे गरेर आफनो घर गएकी छोरी चेली पनि टाढा–टाढाबाट माइती आउने तथा सबैसँग भेटघाट र सुख-दःख साट्ने गर्छन् । यस्तै जोरायल गाउँपालिका ५ का खेमबहादुर विष्टले यसलाई मिलनको पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिस्नु पानी मात्र लगाउने नभएर यो मिलनको पर्व पनि हो ।’

डोटी जिल्लाका विभिन्न ठाउँका स्थानियहरु बिहान नुहाइधुवाइ गरी भोकभोकै सिस्नो लगाउन गाउँभरी डुल्ने गर्छन् । डुल्दै गर्दा एकले अर्कालाई सिस्नुपानी हान्ने अंगालो मार्ने गर्छन् ।

गाउँमा साली–भेना तथा देवर–भाउजूबीच बिहानै देखि सिस्नोपानी हानाहान भइरहेको दृश्यले हेर्ने जोकोही नयाँ मान्छेलाई अचम्मित पार्छ । 

आजको सिस्नु पानी नलगाए वर्षभरिमा रोगव्याध लाग्ने मान्यताअनुरुप यहाँका वृद्ध-वृद्धाहरुले पनि आ–आफना साली भेना तथा भाउजू र देवर खोज्दै सिस्नो लगाउने चलन रहेको छ । 

साली-भेना तथा देवर भाउजू नभएकाहरुले बिहानै नजिकैको धारा वा पधेरीमा गएर सिस्नु पानीमा चोप्दै आफैँ लगाउने संस्कृति चल्दै आएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया