सन्दीप बने वर्षकै उत्कृष्ट युवा खेलाडी

 जेठ ३, २०७५ बिहिबार १६:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ३ – क्रिकेटर सन्दीप लामिछाने एनएसजेएफ स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्।

नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका हुन्।

सन्दीप जारी अाईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका छन् । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेकाे थियाे । 

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पछिल्लो समय चर्चामा रहेका छन् । 

उनी इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेबियन लिग खेल्ने भएकाले मात्रै चर्चामा आएका होइनन् । उनले मे ३१ मा इंग्ल्याण्डको लर्डसमा विश्व ११ को तर्फबाट वेष्ट इन्डिजविरुद्ध हुने खेलमा खेल्ने भएका छन् । 

पहिलो पटक आईपीएलमा अनुबन्धित भएर नेपाली क्रिकेटमा इतिहास कायम गरेका सन्दीपको प्रशंसा विश्व प्रख्यात क्रिकेटरले मात्रै होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गर्न भ्याए । नेपाल भ्रमणमा रहेका मोदीले  सन्दीप लामिछानेजस्तै अरु नेपाली खेलाडी पनि अन्तर्राष्ट्रिय रुपमा जोडिनु पर्ने बताएका थिए । 

मोदीले सन्दीपलाई सम्झिएकै यस्तो संयोग भयो कि दिल्ली डेयरडेभिल्सले टिम ११ मा समावेश गर्यो । अझ दिल्लीले सन्दीपलाई रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध ओपनिङ बलरका रुपमा नै खेलायो । सन्दीपले आईंपीएलमा आफ्नो डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका थिए । उनको बलिङमा विश्वका दुई उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र एबी डिभिलियर्सलाई समेत रन बनाउन हम्मेहम्मे पर्यो । दिल्लीले आफ्नो १२ औँ खेलमा मात्र सन्दीपलाई टिम ११ मा ठाउँ दिएको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया