मनै लाेभ्याउने म्याग्दीकाे नारच्याङ झरना (तस्बिरसहित)

 बैशाख १, २०७६ आइतबार १७:५४:८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नारच्याङ पहाडको टुप्पोबाट भिर पहरा छिचाेल्दै बग्ने चिसो पानीको झरना । एकनासले माथिबाट तलतिर झरिरहने पानीको फोहोरा । पहराबाट छङछङ गर्ने झरनाको आवाज ।  निकै सुन्दर, आकर्षक अनि मनमोहक । जति हेर्‍यो त्यति हेरिरहुँ जस्तो लाग्ने नारच्याङ झरना । 


    
माथि पर्छ नारच्याङको लेकगाउँ, अनि तलतिर बेसीको फाँट । सम्म परेको बेसीको फाँट र लेकगाउँको बीच भिर पहराको सहायता लिँदै निरन्तर खसिरहन्छ नारच्याङ झरना । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको नारच्याङ झरनामा पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ ।

पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने निकै सुन्दर, आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको हो । समुन्द्री सतहदेखि १ हजार ७ सय मिटरको उचाइबाट झर्छ नारच्याङ झरना । यो झरनाको उचाइ तीनसय मिटरभन्दा बढी छ । 

त्यो क्षेत्रमा मानिसहरु बस्न थालेभन्दा पनि पहिलेदेखि त्यहाँ झरना रहेको नारच्याङबासी बताउँछन् । आफ्नै खालको विशेषता बोकेको नारच्याङ झरनामा म्याग्दीसहित देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् भने विदेशी पर्यटक पनि नारच्याङमा बास बसेर झरनाको दृश्यावलोकन गर्न आतुर हुन्छन् । स्थानीय आमा समूहको भवनमा बास बसेका पर्यटकहरु एकपटक झरनामा पुगेरै फर्किन्छन् । 


    
नारच्याङ झरनाभन्दा माथि मानिसहरुको बसोबास नभएको हुँदा झरना एकदमै सफा छ । पानीमा हेर्दा अनुहार प्रतिबिम्बित हुन्छ । झरनाको तल फेदीमा भुमेथानको मन्दिर पनि छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप आकर्षण बढाएको छ ।

हरेक वर्षको जेठ वा असार महिनामा पुजाआजा हुँदै आइरहेको त्यस मन्दिरमा भाकल तथा पूजा गरेमा मनले आँटको कामना पूरा हुने जनविश्वास रहिआएको छ । झरना र मन्दिर जानका लागि त्यहाँसम्म पुग्न केही समय पहिले अन्नपूर्ण युवा क्लबले गोरेटो बाटो बनाएको थियो । 
    
पछिल्लो समय झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नकै लागि भए पनि पर्यटकहरु नारच्याङ झरनामा जाने गरेका छन् । झरनामा पुगेर आसपासका ठाउँमा साइटसिनको निकै मज्जा लिन सकिन्छ । म्याग्दी सदरमुकाम बेनीबजारबाट ३ घण्टाको यात्रामा सवारीसाधनमार्फत नारच्याङ झरनामा पुग्न सकिन्छ । वनभोजका लागि पनि मानिसहरु नारच्याङ झरनामा जाने गरेका छन् । 


    
नारच्याङ झरनाले गाउँको सुन्दरता बढाउनुका साथै गर्मीयामको समयमा शीतलतासमेत प्रदान गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार झरनाको पानीबाट गाउँमा खानेपानीको आपूर्ति, सिँचाइ गरिनुका साथै खोलामा माछा मार्ने गरिएको छ । दृश्यावलोकनको लागि आकर्षण बोकेको सुन्दर नारच्याङ झरना बहुउपयोगी रहेकाले पछिल्लो समय फोटोसेसन गर्नेहरु ह्वात्तै बढेको उहाँले जानकारी दिनुभयो । नारच्याङ झरनाले गाउँमा थप रौनकता थपेको हुँदा नारच्याङ गाउँमा नेपाली पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको अध्यक्ष गुरुङको भनाइ छ । 

झरनामा पुगेर प्रकृतिसँगै रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति भएको नारच्याङ झरनाको भ्रमणमा निस्कनुभएका पोखराका अमृत पौडेलले अनुभव सुनाउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया