पलाँताका सबै घरधुरीमा बिजुली पुर्‍याइने

 बैशाख २, २०७६ सोमबार ८:४७:४९ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - पलाँता गाउँपालिकाले यसै वर्ष पलाँताका सबै घरधुरीमा विद्युत सेवा पुर्‍याउने भएकोे छ ।  

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा पालिकाले विद्युत सेवा पलाँताका सबै घरधुरीमा पुर्‍याउने भएको हो ।

पालिकाले पलाँता उज्यालो कार्यक्रम अन्तर्गत ५ वटा विद्युत आयोजना सञ्चालनमा ल्याएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलातीकान्छाले बताउनुभयाे । विद्युत सेवा बिस्तारका लागि गाउँपालिकाले पलाँता विकास निर्माण कार्यदल परिचालन गरेको छ ।

‘हामीले यसै वर्ष विद्युत घर–घरमा पुर्‍याउँछाैँ भनेका थियाैँ, सोही अनुसार विद्युतमा मात्र हामीले ८० जनाकाे विकास निर्माण कार्यदल प्रयोग गरेका छौं,’ पालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिनुभयाे ।

गाउँपालिकाले पालिका स्तरमा छुट्टै उर्जा शाखा स्थापना गरी मर्मत सम्भार कोषको व्यवस्थापन गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयाे । उपभोक्ता समितिको अगुवाइमा कार्य सञ्चालन गर्ने गरी विद्युत सेवा बिस्तारका लागि स्थानीय जनराज बम, कर्मसिह बुढा र कलबहादुर बमलाइ जिम्मेवारी दिइएको छ ।

गाउँपालिकाले पलाँता समृद्धिका लागि ५ महत्वपूर्ण कार्यको थालनी गरेका छ । घर–घरमा शुद्ध खानेपानी, सबै वडामा सडक, एक टोल एक बगैचा, प्रत्येक वडामा सामुदायिक स्वाथ्य इकाइ र सबैघरमा उज्यालो ।

‘सबै कार्यहरु ५ वर्षभित्र पूरा हुन्छन्, हामीले त्यही स्पिरिटमा काम गरिरहेका छौँ, हामीलाइ प्रदेश सरकारको समेत महत्वपूर्ण सहयोग छ,’ पालिका अध्यक्ष बमले भन्नुभयाे ।

दुर्सिखोला लघु जलबिद्युत आयोजना 

पलाँताको सबैभन्दा ठूलाे दुर्सिखोला लघु जलविद्युत आयोजना हो । १०० किलोवाट क्षमताको यो आयोजना पलाँता १,२,३, र ८ नं. वडामा विस्तार भइहरेको छ । 

दाम्रीगाड लघु जलविद्युत आयोजना 

यो आयोजना २१ किलोवाट क्षमताको आयोजना हो । यस आयोजनाबाट वडा नं. ९ का सबै घरधुरीमा बिद्युत सेवा बिस्तार भएको छ । 

औलाखोला लघु जलविद्युत आयोजना

औलाखोला लघु जलविद्युत आयोजना ७० किलोवाट क्षमताको आयोजना हो । यस आयोजनाबाट पलाँता ४,५ र ६ वडाका सबै घरधुरीमा विद्युत सेवा विस्तार भएको छ । आयोजनाको क्षमता ७० किलोवाट भए पनि खपत ३० किलोवाट मात्र भएको वडा नं. ४ का अध्यक्ष ऐनराज महताराले जानकारी दिनुभयाे । 

घुचिखोला लघु जलविद्युत

घुचिखोला लघु जलविद्युत आयोजना ३५ किलोवाट क्षमताको आयोजना हो । यस आयोजनाबाट पलाँता ७ का दुर्सि, दैनिकर र फागोटी बस्तीमा १५ किलोवाट बत्ती खपत भएको छ ।  बाँकी २० किलोवाट पनि वडा नं. ७ का अन्य बस्तीमा खपत हुने वडाध्यक्ष ब्रजबहादुर बमले बताउनुभयाे । 

तलसेरी मेट्रोहाइडो 

तलसेरी मेट्रोहाइटो ४ किलोवाट क्षमताको आयोजना हो । यस आयोजनाबाट लेकतिर फलफुल खेती गरिहरेका २ सय मौसमी बस्तीहरुले बत्ती बाल्नेछन् । बर्षाको समयमा यहाँका किसानहरु स्याउ, आरु, नास्पती, आलु, सिमी लगायतका बालीहरु कुर्न लेकतिर बसाइ सार्ने गर्दछन् । 

यसै वर्षको असाढ मसान्तसम्म पलाँताका २७ सय घरधुरीमा विद्युत सेवा पुग्नेगरी कार्य थालनी गरिएको पलाँता गाउँपालिका प्रवक्ता मानबहादुर भण्डारीले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत ९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया