बर्दियामा जंगली हात्तीको अध्ययन र अनुगमन हुँदै

 बैशाख २, २०७६ सोमबार १५:१७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग र कर्णाली जैविक मार्गमा समुदायमा आधारित जंगली हात्तीको अध्ययन र अनुगमन कार्य सुरु गर्न गरिने भएको छ । सम्भवतः नेपालमै पहिलो पटक जंगली हात्तीको अध्ययन र अनुगमन हुन लागेको बताइएको छ । 

जंगली हात्तीको बढी आतंक रहेको गेरुवा नदी तटीय क्षेत्रको पाताभार, गोला, मनाउ, पशुपतिनगर, खाता जैविक मार्गमा पर्ने सूर्यपटुवा, ठाकुरद्वाराको भूभागका साथै शिवपुर, नेउलापुर र बगनाहा क्षेत्रमा जंगली हात्ती अनुगमनका लागि चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान र रेपिड रेस्पोन्स टिम (आरआरटी) को टोली परिचालन गरिने जनाइएको छ । 

जंगली हात्ती सम्बन्धी अध्ययन यही वैशाख पहिलो सातादेखि चैत्र मसान्तसम्म एक वर्ष सञ्चालन गरिने उज्यालो नेपाल बर्दियाका अध्यक्ष रमेशकुमार थापाले जानकारी दिनुभयो । ‘जंगली हात्तीको संख्या कति रहेछ, कति हात्ती निकुञ्ज बाहिर आए, के कति नोक्सानी पुर्‍याए, के गर्दा निकुञ्ज भित्र भागे भन्ने रिपोर्ट एउटा तयार हुन्छ ?’ बर्दिया निकुञ्जका निवर्तमान प्रमुख संरक्षण अधिकृत एवं उज्यालो नेपाल बर्दियाका अध्यक्ष रमेश कुमार थापाले भन्नुभयो । 

जंगली हात्तीको आवागमन, हात्तीको संख्या, हात्तीले गर्ने हानी नोक्सानी र गाउँमा पसेका हात्ती धपाउन कुन प्रविधि प्रभावकारी हुन्छ ? भन्ने समेत अध्ययन गरिने चोरीशिकार नियन्त्रण युवा परिचालान अभियान सञ्जाल बर्दियाका अध्यक्ष  हेमन्तप्रसाद आचार्यले बताउनुभयो ।  

हात्ती अनुगमनका लागि खटिएका रेपिड रेस्पोन्स टिमका सदस्यहरुलाई उज्यालो नेपाल बर्दियाले इन्टरनेसनल एलिफेन्ट फाउण्डेसनको सहयोगमा २५ जना आरआरटी सदस्यहरुलाई तालिम दिई क्यामरा, जीपीएस, झोला, युनिफर्म र फिल्ड सामाग्रीहरु बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वितरण गर्नुभएको थियो । 

पछिल्लो समय बर्दिया निकुञ्ज आसपासका क्षेत्रमा बर्षेनी जंगली हात्तीबाट जनधनको क्षति पुर्‍याउने क्रम बढेको छ । बर्दिया निकुञ्जमा एक सयको हाराहारीमा जंगली हात्ती रहेको अनुमान गरिएको छ ।

उज्यालो नेपाल बर्दियाको आयोजनामा जंगली हात्ती संरक्षणका लागि सरोकारवालाहरुबीच एक दिने कार्यशाला गोष्ठी ठाकुरद्वारामा आयोजना समेत गरिएको थियो । उज्यालो नेपाल बर्दिया, बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, युएसफिस एण्ड वाईल्ड लाइफको सहयोगमा जंगली हात्तीबाट बच्न पूर्व तयारीका लागि कार्ययोजना बनाउन गोष्ठीको आयोजना गरिएको हो । 
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया