सगरमाथामा 'नेपाल भ्रमण वर्ष २०२०' को लोगो फहराउँदै नेपाल, भारत र चीनकी चेली

 बैशाख २, २०७६ सोमबार १७:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका तीन जना महिलालाई सोमबार बिदाइ गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा 'नेपाल भ्रमण वर्ष २०२०' को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार काठमाण्डौमा एक कार्यक्रम गर्दै बिदाइ गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्तालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो दिएर तीनै जना आरोहीहरुलाई सगरमाथा आरोहणका लागि बिदाइ गर्नुभएको हो । 

उहाँले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले त्यस आरोहणको कार्यक्रमलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो । सचिव सापकोटाले तीनवटै देशका नारीहरुको सफल आरोहणको नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

नेपालकी तामाङ यसअघि नै सगरमाथाको सफल आरोहण गरी तामाङ समुदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान कायम गरिसक्नु भएको छ भने भारतकी दासले ६ हजार मिटर उचाइका विभिन्न हिमालहरुको सफल आरोहण गरिसक्नु भएको छ । चीनकी माले सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै सगरमाथा आरोहणका लागि जान लागेका तीनै जना महिलाहरुलाई राष्ट्रिय झण्डा दिएर बिदाइगरिसक्नु भएको थियो  ।

आरोहण दलको गाइडको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्नु हुनेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया