भेरी–बबई  सुरुङको ‘ब्रेक थ्रु’ आज

‘समय खेर नफाली काम गरेर सफल भयौँ’

 बैशाख ३, २०७६ मंगलबार ७:३६:२२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको मंगलबार ‘ब्रेक थ्रु’ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सुरुङ निर्माण सकिएको औपचारिक घोषणा गर्नुहुनेछ । सुरुङ निर्माण सम्पन्न हुने सम्झौता मिति आउनुभन्दा एक वर्ष अगाडि नै सुरुङ निर्माण सम्पन्न भएको हो । 

सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालदेखि चिप्लेसम्म १२ दशमलव २ किलोमिटर सूरुङ निर्माण गरिएको हो । वि सं २०७४ कात्तिक २० गतेदेखि चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७६ चैत १५ गते सक्नेगरी नेपाल सरकारसँग सम्झौता गरी सुरुङ निर्माण थालेको थियो । नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) ले सूरुङ खनिएको हो ।

आयोजनाका प्रमुख सञ्जिव बरालले सुरुङ निर्माणमा सोचभन्दा पनि राम्रो काम गर्न सफल भएको बताउनुभयोे । उहाँले भन्नुभयो ‘सबैको साथ सहयोगले हामीले सुरुङ निर्माण समय अगाडि नै सम्पन्न गर्न सफल भएका भयौँ । हाम्रो देशमा प्राय आयोजनाहरु समयमै सम्पन्न नभइरहेको परिस्थितितिमा हामीले दिनरात समय खेर नफाली काम गर्‍योैँ ।’

समय आगाडि नै काम सम्पन्न हुँदा त्यहाँ कार्यरत कर्मचारी, आयोजना पक्ष, ठेकेदार कम्पनी र नागरिक सबै उत्साहित भएका छन् । ‘प्राय आयोजनाहरु समयमै सम्पन्न नभएका कुरा सुन्छौँ । तर यस आयोजनाको सुरुङ निर्माण काम तोकिएको समयभन्दा अगाडि नै सकियो’  आयोजनाको सुरुङ निर्माणमा कार्यरत सुर्खेतका झोकबहादुर बस्नेतले भन्नुभयो, ‘यसले हामीलाई धेरै खुशी बनाएको छ ।’

आयोजनाको सुरुङ निर्माणमा परामर्शदाताको रुपमा काम गर्दै आउनु भएका भूगर्भविद् पुरुषोत्तम सिल्पकार नयाँ प्रविधिको प्रयोग, आयोजनाको सही छनोट, कामदारको एकता भूगर्भका हिसाबले पनि राम्रो भएकाले सुरुङ निर्माण काम समयमै सम्पन्न भएको बताउनुहुन्छ । ‘सबैको साथ सहयोग, सक्रियताले समयमै काम गर्न सकिन्छ भन्ने यस आयोजना उदाहरण बनेको छ’ उहाँले भन्नुभयो, ‘यसमा सरकारी पक्ष, ठेकेदार कम्पनी र कामदारको सक्रियताले सफलता पाएको हो ।’  

सुरुङमार्फत भेरीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनलाई सिँचाई उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । साथै भेरीगंगाको हात्तीखालमा पावर हाउस निर्माण गरेर ४६ दशमलव ८  मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया