‘छोरो स्कूल जाने हुँदा पैसा कमाएर आउँछु भन्नुभएको थियो फर्किन पाउनुभएन’

 असार १५, २०७५ शुक्रबार १४:३६:९

राजु अधिकारी

सुनसरी – ‘सबैको भाग्य एउटै नहुँदो रहेछ । कसैको भाग्यमा सुख भने कसैकोमा दुःख । यस्तै दुःखको जिन्दगी म पनि भोगिरहेकोे छु ।’ यो भनाई सुन्दा  सुनसरीको बराहक्षेत्र नगरपालिकाकी गीता पोख्रेल निराशावादी मान्छे जस्तो लाग्नसक्छ ।

गीतालाई एक्लोपनले निराश बनाउँछ । यसको कारण बन्यो वैदेशिक रोजगारी । गीताका श्रीमान् चन्द्रप्रसाद विराटनगरमा स्टोरमा काम गर्नुहुन्थ्यो । तीन जना छोराछोरी हुर्किंदै थिए । श्रीमानको महिनाको १२/१५ हजार कमाईले खान लाउन त पुग्थ्यो तर छोराछोरी पढाउन नसकिने भयो भन्दै चन्द्रप्रसादले विदेश जाने सल्लाह गर्नुभयो गीतासँग । गीतालाई पनि छोराछोरीको भविष्यकै चिन्ता भयो ।

विराटनगरको कामबाट हुने कमाईले असुरक्षित देखिएको परिवारको भविष्य विदेशको कमाईमा सुरक्षित देख्नुभयो गीतका श्रीमान् श्रीमतीले । २०७१ साल लाग्दा आएको सोच पुरा हुन समय लागेन । इटहरीको एउटा म्यानपावरले काम र कमाई राम्रो रहेको भन्दै प्रक्रिया थालेको १५ दिनभित्रै भिसा आएको खबर गर्‍यो ।

म्यानपावरका कुरा सुनेपछि चन्द्रप्रसादले सपना पुरा हुने कल्पना गर्नुभयो । ‘तिमी यहाँ सुखदुःख गरेर नानीहरु हेर म विदेश गएपछि कमाउँछु अनि छोराछोरीलाई उनीहरुले चाहे जस्तै विषय पढाउँला भन्नुभयो’ गीताले सुनाउनुभयो । 

यही सपना बोकेर चन्द्रप्रसाद २०७१ असार १४ गते दुवई उड्नुभयो । हिँड्ने बेलामा श्रीमानले ‘छोरो स्कुल जाने हुदाँ त म पैसा कमाएर आइहाल्छु नी’ भन्नुभएको थियो । चन्द्रप्रसादले घर छोड्ने बेला छोरा १८ महिनाका मात्रै हुँदै थिए । उनले बाबा भन्न मात्रै सक्थे । 

घरबाट हिँडेको एक हप्तापछि चन्द्रप्रसाद दुवई पुग्नुभयो । टिएसटी कम्पनीमा काम पाएका चन्द्रप्रसाद दुई दिनपछि काममा लाग्नुभयो । विदेश चन्द्रले सोचे जस्तो थिएन । गीताले कल्पना गरेको भन्दा पनि फरक थियो त्यहाँको परिवेदश । तातो घाममा ८ घण्टा खट्नु परेपछि चन्द्रप्रसादले फोन गर्दा त्यहाँ सोचे जस्तो नहुने रहेछ भन्नुहुन्थ्यो ।

दुःखसँगै छोराछोरीलाई पढाउने अनि परिवारलाई सुख दिने सपनाले थिचिरहेको थियो चन्द्रप्रसादलाई । त्यसैले खटिरहनुभएको थियो । तर खाडीको तातो दुई महिना पनि खप्न सक्नुभएन उहाँले । २०७१ भदौ ५ गते कामबाट फर्किएर सुतेका चन्द्रप्रसाद कहिल्यै उठ्नुभएन । 

तातोमा काम गरेको ज्यानले चिसो खोजेको थियो । त्यसैले चन्द्रप्रसाद ‘एसी’ चलाएर सुत्नुभएको थियो त्यो दिन । एसीको चिसोले ज्यान सेलायो तर उहाँले अनुभुति गर्न पाउनुभएन । चन्द्रको ज्यानसँगै उहाँ र गीताका सपना पनि सेलाए तातो मरुभूमीमा । गीता अहिले पनि त्यो दिनको कल्पना गर्न सक्ने अवस्थामा हुनुहुन्न । 

छोराछोरी हुर्काउने जिम्मा गीताकै थियो । श्रीमान पढाउने खर्च जोहो गर्न विदेश जाँदा गीतालाई आधा जिम्मेवारी उहाँले बोकेर परदेश नै लगे जस्तो लाग्थ्यो । उहाँ सपना पुरा हुने दिनको पर्खाइमा हुनुहुन्थ्यो । तर सपना पुरा नहुँदै आफूसँग लिएको गएको जिम्मेवारी पनि गीतालाई जिम्मा लाएर चन्द्रप्रसाद नफर्किने बाटो लाग्नुभयो । 

विदेशमासुतेको ठाउँबाट उठ्न नपाउने नेपालीको सङ्ख्या बढ्दो छ । चन्द्रप्रसादको नाम पनि त्यही सूचीमा थपियो । यो उठ्न नपाउनेहरुको मात्रै सूचि थिएन । यो त सपना पुरा नपाउँदै मरुभूमीमै प्राण त्याग्न बाध्य नेपालीको सूचि पनि थियो । 

सूचिमा एक अंक थपियो । यता गीताको जिन्दगीमा एक जनाको कमी भयो । जुन कमी गिताले महसुस गरिरहनुहुन्छ । श्रीमानले सधैंका लागि छोडेर गएपनि जिम्मेवारी सँगै थियो । त्यसैले गीताले आफूलाई सम्हाल्नुभएको छ । ‘तर यो जिम्मेवारी पुरा गर्न सजिलो छैन ।’ गीता भन्नुहुन्छ ।

चन्द्रप्रसादको मृत्युसँगै कमाउने बाटो घट्यो । घरको आर्थिक अवस्था कमजोर भएको छ । छोराछोरीको भविष्यको सपनामा दुवई पुगेका चन्द्रप्रसाद बाकसमा फर्किएपछि परिवार समस्यामा छ । 

गाउँकै कुमारी बिक सुरक्षित आप्रवासन परियोजनाकी रिटर्नी भोलेन्टियर भएकाले गीताका छोराछोरीले कक्षा १२ सम्म पढ्न छात्रवृत्ति पाएका छन् । यसले गीताको निराशामा थोरै आशाको दियो बालेको छ । 

विदेश नजानु देशभित्रै परिश्रम गरेर खानु

विदेशले पुरा गर्छ भनेर देखेको सपना वैदेशिक रोजगारीले नै तुहिएपछि गीतालाई बरु यहीँ काम गरेर बसेको भए हुन्थ्यो होला भन्ने लाग्छ । अचेल त आफन्त अनि गाउँका कसैले विदेश जान्छु भन्ने कुरा सुनाउँदा पनि गीतालाई विदेश नगइदिए हुन्थ्यो देशमै केही गरेर बसिदिए हुन्थ्यो जस्तो लाग्छ । ‘सबैको सपना त पुरा हुने रैनछ नी, त्यही भएर देशभित्रै परिश्रम गरे राम्रो हुने थियो’ गीता भन्नुहुन्छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया