प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाइ बुधबार हुने

 बैशाख ३, २०७६ मंगलबार १५:३६:१० | उज्यालो सहकर्मी

काठमाण्डाै - संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाइ बुधबार गर्ने भएको छ । 

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार दिउँसो २ बजे सुनुवाइ गर्ने निर्णय गरेको हो । त्यसअघि बिहान ११ बजे भने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाइ भने बिहीबार गर्ने पनि निर्णय गरेको छ । सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित हरि फुयाँल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय प्रकाश ढुंगाना र सुक्ष्मलता माथेमाविरुद्ध परेको उजुरीमाथि छलफल र सुनुवाइ गर्ने कार्यक्रम पनि बिहीबार ५ गतेका लागि तय गरिएको समितिका सभापति कर्णले बताउनु भयो ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सिफारिस प्रक्रिया नै गलत रहेको दावी गर्दै २ वटा र अन्य ३ वटा गरी ५ वटा उजुरी परेको पनि संसदीय सुनुवाइ समितिले जनाएको छ ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया