प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने

 बैशाख ४, २०७६ बुधबार १६:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले पनि सहुलिय तरुपमा कर्जा उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गर्नुभएको हो । 

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै बैंकले सहुलियतपूर्ण ऋण प्रवाहका ७ प्रकारका कर्जा योजना सार्वजनिक गरेको हो । जसअनुसार, व्यवसायिक कृषि तथा पशुपन्क्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने योजना छ । त्यसैगरी शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना रहेको पनि प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिनुभयो । त्यसका लागि कम्तीमा स्नातक तह उतीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ ।

बैंकले विदेशबाट फर्किएका युवाहरुका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको छ । ग्रीन कार्ड होल्डरको हकमा भने यो योजना लागू नहुने पनि बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले स्पष्ट पार्नुभयो । महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलितहरुको व्यवसाय उत्थानका लागि १० लाख, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना पनि बैंकले सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले ती सबै योजना बैंकका सबै शाखाहरुबाट दिने व्यवस्था गरिएको पनि बताउनुभयो ।

प्रभु बैंकले सबै स्थानीय तहमा बैंक सेवा पुर्‍याउन ब्रान्चलेस बैंकिङ प्रणाली सुरु गर्ने तयारी पनि गरेको छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय १५ वटामा मात्रै बैंकिङ सेवा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । प्रमुख कार्यकारी अधिकृत शेरचनले बैंकिङ सेवा सञ्चालनका लागि कठिनाई भैरहेका बाँकी स्थानीय तहमा पनि ब्रान्चलेस बैंकिङ प्रणाली स्थापना गर्ने तयारी गरिएको बताउनुभयो ।

बैंकले १० लाखभन्दा बढीको कर्जाका लागि संस्था र १ करोडभन्दा बढिका लागि कम्पनी दर्ता भएको हुनुपर्ने पनि स्पष्ट पारेको छ ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया