बेमौसमी वर्षाले पुल निर्माण सामग्री बगायो

 बैशाख ५, २०७६ बिहिबार ११:१४:५२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जा र पर्वत जोड्ने गरी निर्माण भैरहेकोे सेती खोला मोटरेबल पुल निर्माण स्थलमा राखिएको निर्माण सामग्री बेमौसमी वर्षाले बगाइदिएको छ । आगामी असार मसान्त भित्र निर्माण सम्पन्न गर्नु पर्ने पुलको निर्माण सामग्री बाढीले बगाएको हो । 

मुक्तिनाथ निर्माण सेवा र सुयान विल्डर्सले संयुक्तरुपमा निर्माण गर्दै आएको पुलले पर्वतको विहादी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका जोड्छ । सुयान विल्डर्सका प्रोपाइटर सुदन श्रेष्ठले भन्नुभयो, ‘वैशाख ७ गते ढलानको तयारी थियो सबै सामाग्री बाढीले बगाइदियो ।’ पुल निर्माण गर्न प्रयोग गरिएका पानी तान्ने पम्प, मेसिन, गिट्टी बालुवा, ह्युमपाइप, काठ, जालीलगायतका सामाग्री बगाएको हो । 

श्रेष्ठका अनुसार दुई दिनसम्म लगातार परेको अविरल वर्षापछि आएको बाढीले करिब ३५ लाख बराबरको क्षती पुर्‍याएको छ । ‘बर्खा नलाग्दै पुल सम्पन्न गर्ने योजनामा थियौँ’ श्रेष्ठले भन्नुभयो ‘सामाग्री सबै बगाएपछि पुल निर्माण कार्य अब केही महिना लम्बिने छ ।’ ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल निर्माण गर्न ५ करोड १२ लाखमा सम्झौता गरिएको थियो । 

दुईजिल्ला जोड्ने मोटरेबल पुल निर्माण भएपछि दक्षिण पर्वत र पश्चिम स्याङ्जाका बासिन्दालाई आवात जावतमा सहज हुनेछ । 
 

अन्तिम अपडेट: चैत २, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया