यू–१९ विश्वकप एसिया छनोट: नेपालले कुवेतलाई आठ विकेटले हरायाे

 बैशाख ५, २०७६ बिहिबार १४:२४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई आठ विकेटले हराएको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेत ४९ ओभर चार बलमा एक सय ५७ रनमा अलआउट भयो । ११ रनमा पहिलो विकेट गुमाएको कुवेतले १५ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि तेस्रो विकेटका लागि राम्रो साझेदारी गर्दा कुवेतको पारी सम्हालिएको थियो । उसका लागि नोमान बुद्रूले उत्कृष्ट अर्धशतकीय पारी खेले । जसमा उनले ७० रन बनाए । यस्तै गोकुल कुमारले ३६ तथा हामुद अमानुल्लाहले १७ रन बनाए । 

बलिङमा नेपालका लागि रोहित कुमार पौडेलले तीन तथा रासिद खान, सूर्य तामाङ र कुशल मल्लले दुई दुई विकेट लिए । 

जवाफमा नेपालले २८ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 

उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेको थियो । नेपालका दुवै ओपनरले अर्धशतकीय पारी खेले । पवन सर्राफ ५३ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालका रित गौतम ६२ रनमा आउट भएपछि एक सय ४० रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए । 

यो जितले पनि नेपालको विश्वकप यात्रा सफल हुन सकेन । अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले हराएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरो बनेको हो । नेपालको विश्वकप यात्रामा धक्का लाग्नुमा मुख्य दोषी वर्षा बन्यो । युएईविरुद्धको खेल वर्षाका कारण राेकिएपछि नेपालले एक रनको हार ब्यहोरेको थियो । जुन नेपाल विश्वकपमा छनोट नहुनुको मुख्य कारण बन्न पुग्याे । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया