पूर्व-पश्चिम राजमार्गमा ज्यानमारा खाल्डाखुल्डी, प्रशासन भन्छ : खाडल ठूला छैनन्

 बैशाख ५, २०७६ बिहिबार १९:४०:५० | भावुक योगी
unn.prixa.net

बर्दिया - राजमार्गमा  सुरक्षित रुपमा सवारी साधन कुदाएर गन्तव्यमा पुर्‍याउने र पुग्ने चाहना सवारी चालक र यात्रा गर्ने यात्रु दुवैको हुन्छ । तर सडकमा सवारी साधन कुदाउन त के चलाउनै डरलाग्दो भए के गर्ने ?

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दियाका धेरै ठाउँमा यस्तै खतरापूर्ण ३० भन्दा धेरै ज्यानमारा खाल्डाखुल्डी छन् । 

पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि माछागढ, ककौरा, बनगाईँ, बैदीनजिक ठूल्ठूला खाल्डा छन् । तीव्र गतिमा आएका सवारी साधन त्यहाँ पुग्दा गड्याङगुडुङ आवाज आउँछ, यात्रुहरु दुर्घटना पो भयो कि भनेर तर्सिन्छन् । राजमार्गमा यस्तो समस्या देखिएको ६ महिनाभन्दा बढी भैसक्यो । तर मर्मतका लागि सडक विभागले चासो दिएको छैन । 

राजमार्गका विभिन्न ठाउँमा टाढाबाट नदेखिने यस्ता खाल्डाखुल्डीमा परेर कति दुर्घटना भए त्यो तथ्याङ्क छैन । तर स्थानीयका अनुसार, मोटरसाइकललगायतका सवारी साधन दुर्घटना हुँदा धेरै घाइते भएका छन् । सवारी साधन चलाउनेहरु खाल्डाका कारण दुर्घटनाको जोखिम रहेको बताउँछन् । तर दुर्घटना हुने ज्यानमारा सडकको मर्मत भने गरिएको छैन । 

बाँकेको कोहलपुरनजिक सुस्त गतिमा कतैकतै काम गरेको देखिन्छ तर बर्दियाका खाल्डा मर्मतका लागि कहिले आउने हो अत्तोपत्तो छैन । यो राजमार्ग हुँदै देशका संघ तथा प्रदेशका मन्त्री र सांसदहरु यात्रा गर्छन् । आयोजनाका प्रमुख, प्रजिअ, एसपीलगायतले पनि राजमार्गमा भएको खाल्डो देख्छन् । ओहो राजमार्ग पनि यस्तो, कस्तो लापर्बाही, कमसेकम मर्मत त गर्नुपर्छ, यस्तै यस्तै एकछिन गफ गर्छन् तर सम्बन्धित निकायलाई भनेर मर्मत गराउनतर्फ कसैले चासो दिँदैनन् । तर सवारी चालकहरु ठूलो जोखिम मोलेर यात्रुहरुलाई यात्रा गराउन बाध्य छन् । 

सवारी चालकले सास्ती बेहोरेको लामो समयसम्म पनि राजमार्गको मर्मत भएको छैन । अब पूर्व-पश्चिम महेन्द्र राजमार्ग पनि सानो र साँघुरो भैसक्यो । गाडीको चाप उत्तिकै बढेको छ, राजमार्गमा । महिनौं बितिसक्दा समेत मर्मतको काम नहुनुले सडक विभागको चरम लापर्बाही देखिन्छ । ‘वर्षा याममा पानी पर्यो भने त झन् जोखिम हुन्छ । खाल्डो कत्रो छ थाहा हुन्न, दुर्घटना हुने खतरा बढी हुन्छ’, सवारी चालक शंकर थारुले भन्नुभयो । 

‘सडकको बीचमा ज्यानमारा खाल्डाखुल्डी छन् । मोटरसाइकल, अटो, कार, बस, ट्रकजस्ता गाडीहरु त्यस्तो खाल्डामा परे भने उछिट्टिएर अर्कोतिर पुग्छन्, यस्तो समस्या हुँदा पनि खाल्डो पुर्ने काम भएको छैन’, भेरी बागेश्वरी यातायातका काउण्टर प्रमुख लक्ष्मीकान्त शर्माले भन्नुभयो । 

राजमार्गमा धेरै मानिसको ज्यान जोखिममा रहेकाले मर्मतको काम हुने भनिए पनि अझै भएको छैन । खाल्डो दिनहुँ ज्यानमारा बन्दै गइरहेको छ । ‘हरेक दिन सडकका खाल्डाखुल्डीमा दुर्घटनाहरु भइरहन्छन् । तर, सडकको खाडल पुर्नेसम्मको कामसमेत भएको छैन', माछागढका एक स्थानीयले भन्नुभयो । खाल्डोका कारण सवारीसाधन ओहोरदोहोर गर्न समस्या भएको छ । साह्रै कष्ट बेहोर्नु परेको छ । 

बर्दियाको मानखोलादेखि ककौरा, माछागढ, बनगाईँ बैदीको बीचमा पर्ने सडकका खाल्डोको कारणले ६ महिनायता ५ वटा दुर्घटना भएको स्थानीयको भनाइ छ । राजमार्गको खाल्डोकै कारण पटकपटक दुर्घटना निम्तिए पनि मर्मतका लागि सडक विभागले चासो नदिएको स्थानीयको भनाइ छ । अझै पनि खाल्डा पुर्ने काम नगरेमा कतिबेला दुर्घटना हुन्छ र कसको ज्यान जाने हो ठेगान छैन । 

‘खाल्डोकै कारण दुर्घटना भएर कतिको ज्यान गयो, कति घाइते भए भन्ने रेकर्ड त राखिएको छैन, तर राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि बनगाँई बैदीनजिक ग्याङ खोलासम्म राजमार्ग भत्केर दुर्घटनाको जोखिम छ’, इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले भन्नुभयो । 

बर्दिया जिल्लामा पर्ने राजमार्गको खाल्डो छिटो छरितो रुपमा मर्मत गर्न सडक विभागलाई आग्रह गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

सडक विभाग भन्छ : खाल्डो सानो छ, असारसम्म खाल्डो पुरिन्छ 

पूर्व-पश्चिम राजमार्गमा भएका ठूल्ठूला खाल्डाखुल्डीका कारण दुर्घटना बढेको भए पनि सडक विभाग भने यो कुरा स्वीकार गर्दैन । राजमार्गमा भएका खाल्डाखुल्डी सानो र सामान्य ठान्छ । 

पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि कर्तनिया बैदीसम्म सडकमा दुर्घटना हुने खालका खाल्डाखुल्डी ३० भन्दा धेरै छन् नि ? भन्ने प्रश्न गर्दा सडक विभाग नेपालगञ्जका डिभिजन प्रमुख रामकुमार देवले भन्नुभयो, ‘राजमार्गमा ३० होइन, ५० वटै खाल्डा होलान् तर तपाईँले भनेजस्तो ठूला छैनन् खाल्डा साना छन्, त्यही सानो खाल्डोकै कारण दुर्घटना त हुँदैन । अरु कारणले हुन्छ ।’ 

खाल्डाखुल्डी पुर्ने काम बाँकेको कोहलपुरदेखि सुरु भएको र बर्दियाको मानखोलासम्म अब केहीदिनभित्रै पुग्ने बताउँदै राजमार्गका सबै खाल्डाखुल्डी पुर्ने काम पनि तीव्र गतिमा सुरु हुने उहाँले बताउनुभयो । 

‘यो आर्थिक वर्षमा के भइदियो भने पुष महिनासम्म एक महिनादेखि दुई महिनाभन्दा बढी कोही पनि कार्यालय प्रमुखहरु बस्न नपाएर सरुवा हुने समस्याले गर्दा ढिला भएको हो । म आएको पनि २ महिना मात्रै भयो, अब काम सुरु हुँदैछ । टेण्डरको काम सकियो, ठेकेदारहरु मोभिलाइज हुँदैछन् । असारसम्म काम सकिन्छ’, उहाँले भन्नुभयो ।

सबैभन्दा बढी चाप हुने पूर्व-पश्चिम राजमार्गको हालत यस्तो छ भने अरू सडकको त झन् के होला? राजधानी काठमाण्डौलगायत देशका विभिन्न जिल्लासम्म पुग्ने सवारीसाधनहरु दिनरात हजारौंको संख्यामा यही राजमार्ग भएर ओहोरदोहोर गर्छन् । तर, सडक विभागले मर्मत गर्नतर्फ हेलचेक्र्याइँ गरिरहेको छ ।  

राजमार्गमा भएका खाल्डाका कारण कुनबेला कतिखेर कहाँ के हुने हो भन्ने चिन्तामा यात्रा गर्नुपर्ने बाध्यता छ । सडक विभागले दुर्घटना निम्त्याउने सडकका खाल्डाखुल्डी पुर्न हतार गर्नु हुँदैन । जतिसक्दो छिटो राजमार्गमा भएका खाल्डा पुरियो भने सवारी साधनका चालकले ढुक्क भएर सवारी साधन चलाउन र यात्रा गर्ने यात्रुले पनि ढुक्क भएर यात्रा गर्न पाउने छन् । त्यसैले सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया