मुसिकोट नगरपालिकाले दियो ९० जनालाई गाउँमै रोजगारी

 बैशाख ५, २०७६ बिहिबार १७:१९:४७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी दिएको छ । नगर क्षेत्रभित्र रहेका सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याएर ९० जना त्यही सडकमा काम गर्ने गरी नियुक्ति दिएको हो । 

नगरपालिकाले गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई नियुक्तिपत्र र काम गर्न चाहिने सामग्री हस्तान्तरण गर्नुभयो ।

मन्त्री विष्टले नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी दिएकोमा खुशी व्यक्त गर्दै  काम सानो ठूलो नहुने बताउनुभयो ।

साथै उहाँले अब केही समयपछि प्रत्येक स्थानीय तहमा चार सय युवाहरुलाई कुनै न कुनै रोजगारी सिर्जना गर्ने बताउनुभयो । मन्त्रीविष्टले स्थानीय सम्भावनाका आधारमा गाउँमै रोजगार सिर्जना गर्न खोजिरहेको बताउँदै अब कोही पनि बेरोजगार भएर बस्नु नपर्ने बताउनुभयो ।

मुसिकोट नगरपालिकाले ‘लेन्थ वर्कर’ व्यवस्थापन कार्यविधि–२०७५ निर्माण गरेको र त्यसैका आधारमा व्यवस्थापन समिति गठन गरेर नियुक्त गरिएका कामदारलाई परिचालन गर्ने नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।

नगरपालिकाले एक जना कामदारको पारिश्रमिक मासिक १३ हजार चार सय ५० रुपैयाँ तोकेको छ । उनीहरुले वर्षभरि नै मोटरबाटो मर्मत गर्ने झाडी सरसफाइ गर्ने, साना पहिराहरु पन्छाउने, नाली काम गर्नेछन् ।

मुसिकोट नगरपालिकाका नौ वडामा १० जनाका दरले ९० जना कामदार भए पनि सडकको दूरीको आधारमा उनीहरुलाई परिचालन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताउनुभयो ।

यो कामका लागि १ सय २६ जनाले आवेदन दिएकोमा एक सय १० जना अन्तर्वार्तामा सहभागी भएका थिए । छनौट समितिको मूल्याङ्कनका आधारमा ९० जनालाई छनोट गरिएको नगरपालिकाले जनाएको छ । 

सडक सफा र मर्मतका लागि कामदार लगाउँदा डोजरभन्दा महङ्गो पर्ने  भए पनि डोजरलाई पैसा दिएर बाहिर पठाउनुभन्दा स्थानीयलाई काम दिन यस्तो निर्णय गरिएको  नगर प्रमुख सापकोटाले बताउनुभयो । 

तस्बिर- कृष्ण छन्तेलकाे फेसबुकबाट

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Lilawati Aryal

    April 18, 2019, 5:35 p.m.

    काम भएर मात्रै भएन। कामले माम पनि खान पुग्नु पर्‍याे।

  •  0 Reply

तपाईको प्रतिक्रिया