विप्लवको बन्द छल्दै प्रचण्ड सुकुटेमा

 बैशाख ५, २०७६ बिहिबार १९:६:१६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक –  बिहीबार दिनभरजसो  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दले सबैजसो राजमार्गमा सवारी साधनको चाप कम थियो । 

राजधानीबाट ७६ किलोमिटर टाढा सुनकोशी नदीको किनारमा रहेको सुकुटे बिच रिसोर्टमा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारसहित पुग्नु भएको छ । आरामका लागि दाहाल परिवार सुकुटे आइपुगेको बताइएको छ । 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका बीच पत्नी सीतासहित प्रचण्ड ‘सुकुटे इक्वेडर बिच’ रिसोर्टमा आउनु भएको हो । दिउँसो करिब ३ बजेतिर अरनिको राजमार्ग हुँदै उहाँ सिन्धुपाल्चोक पुग्नुभएको हो । नेकपा अध्यक्ष दाहालले रिसोर्टमै रात बिताउने परिवार श्रोतले बताएको छ । प्रचण्डको साथमा सिन्धुपाल्चोक गृहजिल्ला भएका पार्टी स्थायी समिति सदस्य अग्नि सापकोटा पनिरहनुभएको छ । 

एकान्त रुचाउने दाहाल शान्त वातावरण खोज्दै सुकुटेको रिसोर्टमा यसभन्दा अघि पनि पटक–पटक आउने गर्नुहुन्छ । सात वर्षदेखि निरन्तर वर्षको एक–दुई पटक प्रचण्ड सुकुटे रिसोर्टमा आउनुभएको छ । 

दुई दल एकता भएपछि शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका दाहालको यसअघिका यस्ता भ्रमणले राजनीतिमा कुनै न कुनै अर्थ समेत राख्दै आएका थिए । निकै व्यस्त राजनीतिक दैनिकीबाट थकित प्रचण्ड पार्टी एकता प्रक्रिया नटुंगिदा केही तनावमा पनि हुनुहुन्छ ।

गाउँदेखि केन्द्रसम्मका नेताले एकता प्रक्रिया टुंगिन बिलम्ब हुँदा काम नपाएको भन्दै गुनासो गरिरहेका छन् । अध्यक्ष दाहालले शान्त र आराम खोजेकाले नेता, कार्यकर्तासँग भेटघाट कार्यक्रम समेत नराखिएको उहाँको सचिवालय स्रोतले बताएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया