महाबुमा चट्ट्याङबाट ४ जना घाइते

 बैशाख ५, २०७६ बिहिबार २०:०:७ | अमर सुनार

दैलेख – महाबु गाउँपालिका–६ लामिडाँडा कुइयाँपानीमा बिहीबार साँझ परेको चट्टयाङ्गबाट ४ जना घाइते भएका छन् ।

स्थानीय जयबहादुर शाहीको घरमा परेको चट्टयाङ्गबाट आगनमा आमा समूहको बैठक बसिरहेका महिलाहरु घाइते भएका वडासदस्य दलबहादुर बिकले उज्यालोलाई जानकारी दिनुभयो ।

घाइतेमध्ये ४५ वर्षीया जयकुवँरा शाही र ६३ वर्षीया लालसरा रावत अहिलेसम्म बेहोस भएको, २६ वर्षीया गीता बिक र १७ वर्षीया अनिता शाही अर्धचेतमा रहेको वडासदस्य बिकले बताउनुभयो । 

भौगोलिक विकटता र यातायातको असुविधा कारण एम्बुलेन्स पठाउन कठिन भएको तर घाइतेको उद्धार तथा उपचारका लागि गैडाबाज प्रहरी चौकीबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । चौकीबाट प्रहरीलाई पैदल पुग्न ३ घण्टा लाग्छ । 

यसैबीच बुधवार साँझ नौमूले गाउँपालिका–२ बालुवाटारको नौफेरीमा परेको चट्टयाङबाट घाइते भएका ७ जनामध्ये गम्भीर घाइते १४ वर्षीय सन्दीप सिंहको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको र उनकाे अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया