झुक्किएर बीजेपीलाई भोट गएपछि मतदाताले काटे आफ्नै औँला !

 बैशाख ६, २०७६ शुक्रबार १२:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

एक भारतीय मतदाताले झुक्किएर गलत राजनीतिक पार्टीलाई मत दिएपछि आफ्नो बायाँ हातको चोरी औँला काटेका छन् । बहुजन समाज पार्टीका समर्थक बताउने पवन कुमारले हतारमा गल्तीले भारतीय जनता पार्टीलाई भोट दिन पुगेपछि आफ्नाै औँला नै काटेका छन् । 

ती युवकले गलत पार्टीलाई भोट दिएको कारण अफशाेच जनाउँदै हातको औंला काटेको बताएका छन् । औंला काट्ने बित्तिकै ती युवकलाई अस्पताल लगिएको थियो र उपचारपछि उनलाई घर पठाइएको छ । 

उत्तर प्रदेशकाे बुलन्दशहरकाे कोतवाली क्षेत्रको अब्दुल्लापुर हुलासन निवासी २४ वर्षीय पवन बिहीबार मत खसाल्न गाउँकै मतदान केन्द्रमा गएका थिए । मतदानको क्रममा हतारिँदै उनले बहुजन समाज पार्टीको चिन्ह हात्तीको सट्टा भारतीय जनता पार्टीको चिन्ह कमलको बटन दबाएका थिए । 

ती युवकले गलत पार्टीलाई मत दिए पछि आत्मग्लानी भएको बताए । त्यसपछि रिसले चुर भएको ती युवाले घरमा गएर बायाँ हातको चोरी औंला काटेका हुन् । धेरै पार्टीका चुनाव चिन्हका कारण आफू झुक्किएको ती युवाले बताए । 

भारतमा सातौं चरणमा चुनाव भइरहेको छ, जहाँ मे २३ मा मतगणना हुँदैछ । झण्डै ९० करोड योग्य मतदाता रहेको भारतको चुनावलाई विश्वकै ठूलो चुनावको रुपमा हेरिन्छ ।  

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया