आमाको टिकटक, कतिसम्म ठिकठाक !

 बैशाख ७, २०७६ शनिबार ७:३०:५५ | मिलन तिमिल्सिना
unn.prixa.net

‘बल्ल छोराछोरी स्कुल जान थाले, ढुक्क भयो’ उनले आङ तन्काइन् र मोबाइल खोलिन् । 

हिजोसम्म छोराछोरीले मोबाइल छुनै दिएका थिएनन् । बिदा कहिले सकिन्छ र ढुक्क हुन्छ भनेर दिन पर्खंदै थिइन् । बल्ल त्यो दिन आयो । उनी त्यसै त्यसै फुरुङ्ग भइन् ।

‘ओहो !  अस्ति राखेको फोटोमा कति धेरै कमेन्ट र लाइक आइसकेको रहेछ, कसैको कमेन्टमा आफूले लाइक र थ्याङ्क्स भन्न पाएको होइन’ उनी एक्लै फत्फताइन् । 

त्यहीबेला झोला बोकेर स्कुल हिँडिसकेको छोरोले गेटमा ढ्याकढ्याक गर्यो । ‘ममी खै सोसलको बुक चाहिँ ब्यागमा राख्नै भुल्नुभएछ, खै छिटो दिनुस्, मिसले गाली गर्नुहुन्छ फेरि’ छोरोले बाहिरैबाट करायो ।

फेसबुक हेरेर मस्किन थालेकी उनको अनुहार एकाएक बिग्रियो । ‘हैन तेरो बाउलाई त्यति पनि सुद्धि भएन है, सबैतिर मैले नै नहेरी नहुने’ भन्दै उनी किताब खोज्न थालिन् । बल्लबल्ल खाटमुनि मिल्किरहेको किताब फेला पारिन् । ‘ला लैजा’ छोरालाई किताब दिँदै भनिन्, ‘अघि दिएको ५० रुपैयाँ सबै सक्ने हैन नि, दिदी र तँलाई एकएक वटा चाउचाउ किन्नु, बाँकी १० रुपैयाँ फिर्ता ल्याउनु ।’

‘फिर्ता त ल्याएको ल्यायै हो, चोकोफन किनेर खान्छु’ भन्दै छोरो किताब बोकेर कुद्यो ।

‘सुन्नु त छोरोलाई आफैंले चाउचाउ किनेर ब्यागमा राखिदिनुस् है’ अलि पर छोरीको हात समाउँदै हिँडेका श्रीमानलाई उनले भनिन् ।

‘ल ल, अलि छिटो आइज न, बस छुट्छ फेरि’, झ्यालबाट हेरिरहेकी श्रीमती र दौडँदै आएको छोरालाई श्रीमान एकैसाथ भने । छोराछोरीलाई बस चढाएर स्कुल पठाएपछि श्रीमानलाई सधैं अफिस पुग्ने हतारो हुन्छ ।

छोराछोरीलाई बस चढाएर श्रीमान कोठामा फर्किए । श्रीमती बेडमा पल्टिएर मोबाइल खेलाउँदै थिइन् । ‘ए बाबा ! त्यो पब्जी हो कि सब्जी के हो बन्द भएपछि यिनी आमाजस्तै नाच्न मिल्ने टिकटक कसरी बनाउने हो, सिकाइदिनुस् न ।’ श्रीमतीको कुरा सुनेर श्रीमान जङ्गिए, ‘खुरुक्क भात पस्क छिटो, आफूलाई अफिस पुग्न ढिलो भैसकेको, आफू हुनै बाँकी छ ठिकठाक, तिमीलाई टिकटक !’

‘ढिलो भए पस्केर खानुस् न त, म अहिले खान्छु’ भन्दै उनी एकोहोरो मोबाइल हेरेर हाँस्न थालिन्, ‘कस्तो रमाइली यी आमै, पब्जी बन्द भयो भन्दै उफ्रँदै नाचेकी रहिछिन्, मलाई पनि यस्तै टिकटक बनाउन रहर छ भन्या ।’

‘खै सर्वोच्चले पब्जी बन्द नगर्नू भन्यो रे, अब पब्जी बन्द भएन भनेर नि नाच्दै, उफ्रँदै टिकटक बनाउने होलान् काम नपाएकाहरुले’ श्रीमान ताते ।

‘आहा हो र, अस्ति बन्द गर्ने भनेपछि मलाई पब्जी कसरी खेल्ने होला भन्ने कस्तो खुल्दुली लागिरहेको थियो, अब सिक्न पाइने भइयो’ श्रीमती मख्ख परिन् ।

‘अब पब्जी पनि सिकेपछि भातसँग सब्जी पनि खान नपाइने होला, तिम्रो मोबाइल लतले पनि हैरान पारिसक्यो, यो टिकटक पनि बन्द गरिदिए हुन्थ्यो नि’ भन्दै श्रीमान भान्सामा पसे । 

‘पब्जी त नहुने भयो, झन् टिकटक त बन्द भएको भयै हो, बल्ल त आफूले सिक्न थालेको छु, अस्ति जानिसकेको थिएँ, फेरि बिर्सिसकेको छु भन्या, दिनदिनै मोबाइल चलाउन पाए पो ! स्कुल बिदा भएर पनि मलाई त छोराछोरीले मोबाइल चलाउन नदिएरै हैरान पारे, अब चाहिँ ढुक्क भयो’ भन्दै उनले मोबाइल नै खेलाइरहिन् ।

‘हाहा... अर्की आमैको पनि टिकटक आएछ भन्या पब्जी बन्द भएकै बारेमा, कति हाँस्नु, हाहा..., म पनि बनाउँछु टिकटक पब्जी खेल्न पाइने भयो भन्दै, नाच्दै’, उनी एक्लै फतफताइन् । 

‘हैन यो कान्छी पनि अनलाइनमा छैन कि क्या हो.... ए रैछ रैछ’ भन्दै मेसेञ्जरमा बहिनीलाई कल गरिन् ।

‘ओइ ! कान्छी सुन् न... म दिउँसो तेरो कोठामा आउँछु, मलाई एउटा टिकटक बनाउन सिकाइदे है...सुनिस्...यो वाईफाईले पनि राम्रो काम गर्दैन भन्या...टिकटक के टिकटक...म दिउँसो आउँछु ल...’ मेसेन्जरको कल काटियो । उनी बेडबाट उठिन् र भान्सामा पसिन् ।

‘ए तपाईँले खाइसक्नुभएको, भरे फर्किंदा एक बाकस चाउचाउ लेराउनुस् है, केटाकेटीलाई पैसा दिनुभन्दा यहीँबाट ब्यागमा हालेर पठाइदिनुपर्यो’, श्रीमानलाई हेर्दै भनिन् ।

‘हैन घरमै खानेकुरा बनाएर पठाइदिए हुन्न भन्या, स्वस्थ पनि हुन्छ, सस्तो पनि, चाउचाउ खाएर छोराछोरी बिगार्ने भयौ है’ सर्टको टाँक लगाउँदै श्रीमान बोले ।

‘के बनाउने खानेकुरा ? ल भोलिदेखि तपाईँ आफैले बनाइदिनुस् न त, कसले छेकेको छ र’ थालमा भात पस्कँदै श्रीमती बोलिन् ।

‘अँ मेरो अरु काम छैन, तिम्रो दिनभर फुर्सद छ, बनाउ न’ बाहिर निस्कँदै श्रीमानले भने ।

‘दिउँसो फुर्सद भएर हुन्छ, दिउँसो बनाएर कतिखेर लैजाने नि खाजा ? कुरा पनि सुहाउने गर्नु नि ! त्यसमाथि कसले गरोस् नानाथरी ? चाउचाउ किन्यो ब्यागमा राख्यो, कति सजिलो कति’ श्रीमती भात खान थालिन् ।

‘लौ जे गर’ भन्दै श्रीमान बिरक्तिएर बाटो लागे ।

भात खाएर भाँडा माझेपछि उनी फेरि बेडमा पल्टिन् । टिभीको रिमोट खोजिन् । ‘हैन केटाकेटीले रिमोट पनि कहाँ राख्छन् कहाँ, यहाँ कुनामा पो रहेछ’ एकछिन फत्फताएपछि रिमोट फेला पर्यो । रिमोट त फेला पर्यो, तर बिजुलीको लाइन गएको रहेछ ।

‘हरे यहीबेला बत्ति पनि गएछ, बत्ति नभएपछि वाईफाई पनि चल्दैन, अब कान्छीकोमै जानुपर्‍यो’ भन्दै उनी उठिन् । 

* * * * * * * * 


अहिले आमा हुनु पहिले उनी छोरी मात्र थिइन् । गाउँकै स्कुल पढ्थिन् । बिहान च्याँख्ला र बेलुकी चामलको भात पाउँथिन् । स्कुलमा खाजा लैजाने चलन थिएन । कहिलेकाहीँ भुटेको मकै लैजान्थिन् । साथीहरुसँग बाँडेर खान्थिन् । 

आमाले सधैं मकै भुट्न नभ्याउने भएकाले धेरै दिन त त्यसै स्कुल जानुपर्दथ्यो । स्कुल पुग्दासम्म भोक लागिसक्थ्यो । बाटो छेउछाउ र स्कुल वरपर पसल हुँदैनथियो । पसल भए पनि पैसा हुँदैनथियो । अनि अहिलेजस्तो चाउचाउ, बिस्कुट, कुरकुरे खान पाइँदैनथियो । बा कहिलेकाहीँ बजार गएर फर्किंदा मात्र मिठाई र बिस्कुट चाख्न पाइन्थ्यो । चाउचाउ र कुरकुरे त परको कुरा ।

हाफ छुट्टिसम्म भोक खप्न सकिन्थ्यो । सरमिसले पढाएका कुरा अलिअलि बुझेजस्तो लाग्थ्यो । त्यसपछिको कक्षामा भने पढाएको बुझ्न त परको कुरा भोकले सरमिसले बोलेको समेत बुझिँदैनथियो । कहिले घण्टी लाग्ला र भनेर कान ठाडो हुन्थ्यो । हाई काढेर बेञ्चमै निदाउन थालेपछि बल्ल छुट्टीको घण्टी लाग्थ्यो ।  

छुट्टी भएर दौडिंदै घर पुग्दा ढोकामा आग्लो लागेको हुन्थ्यो । बिहान भात खाने बेला देखेको आमालाई भरे भात खाने बेला नहुँदासम्म देख्न पाइँदैनथियो । तालाले आग्लो खोलेर भित्र पस्दा कहिले बिहानको भात हुन्थ्यो, कहिले भुटेको मकै । भात मिठो भएन, मकै टोक्न सकिएन भनेर कराउनु र उफ्रनुको अर्थ थिएन । जसोतसो चित्त बुझाउनुपर्दथ्यो । 

यसै गरीगरी उनले पढाइ सकिन् । कलेज पढ्न थालेपछि विवाह भयो । अनि कलेजको भन्दा पहिले बिहेको सर्टिफिकेट निस्क्यो । छोराछोरी ठूला भए । स्कुल जान थाले । उनले स्कुल पढ्दा र छोराछोरीले स्कुल पढ्दाको बेलामा आकाशपातालको फरक आयो । उतिबेला आमालाई एकछिन फुर्सद हुँदैनथियो, अहिले आफूलाई फुर्सद नै फुर्सद । हेर्दाहेर्दै धेरै कुरा फेरिए । मोबाइल आयो । मोबाइलसँगै फेसबुक, टिकटक नानाभाँती आयो । 

चाहिने कुरा पनि आयो । नचाहिने कुरा पनि आयो । तर जे भए पनि काम नहुनेलाई टाइमपास गर्ने गज्जबको मेलो मिल्यो । अरुजस्तै उनी पनि मख्ख छिन् । त्यसैले आफ्नो पालाको सबै कुरा बिर्सेर टिकटकमा भुल्ने सुरसार कस्दैछिन् ।

* * * * * * * * 

बेलुकी घर आउँदा छोराछोरी स्कुलबाट फर्किसकेका रहेछन् । 

‘ममी कहाँ गएको भन्या, आफूलाई दिउँसोदेखि पेट दुखेर कस्तो भैरहेको छ’ छोरीले पेट छाम्दै भनिन् ।

‘चाउचाउ नपुगेर हो कि’ छोरीको कुरा सुनेर ममीले व्यङ्ग्य हानिन् ।

‘मिठो खाजा बनाएर पठाइदिनू न, कसले खान्छ त चाउचाउ ?’ अलि झर्केर बोले पनि छोरीको कुरा ठिकै थियो ।

‘कसले झण्झट गरिरहोस्, चाउचाउ नै मिठो हुन्छ नि, त्यसमाथि चाउचाउ पाएपछि तिमीहरुले अरुथोक खान्छौ नि, हामीलाई थाहा नभएको हो र’ छोराछोरीको स्वास्थ्यबारे मतलब नै नभएकी उनले थपिन्, ‘ए नानी तेरो सानीमाले टिकटक बनाउन त सिकाइ, तर अघि राखेको टिकटक त कता हरायो हरायो भन्या, हेरिदेउ त ।’

‘नकराउनुस् तपाईँ, मान्छेलाई यहाँ पेट दुखेर खप्न भएको छैन, तपाईँलाई टिकटक’ छोरी पेट छाम्दै बेडमा पल्टिन् । उनी मोबाइल हेर्दै भान्सामा पसिन् । ‘लौन भारतमा त टिकटक पनि बन्द भयो भन्छन् त, ए प्रभु नेपालमा चाहिँ बन्द नहोस् है ।’

आमा झस्केको सुनेर पेट दुख्यो भनेर पल्टेकी छोरी जुरुक्क उठिन्, ‘हो र ममी..., साँच्चै नेपालमा त बन्द नहोस् है, आफूले त्यो अस्ति आएको गीतमा टिकटक बनाउनै पाएको छैन ।’

अन्तिम अपडेट: जेठ ६, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Bhagwan Ghimire

    April 20, 2019, 8:54 a.m.

    मिलन तिमिल्सिनाजी को व्यंग्य निकै मन पर्छन र प्रायः छुटाउँदिन। गाउँले परिवेश देखि शहरिया रमझम सम्म देखेभोगेको मान्छेलाई यस्ता कुरा लेख्न राम्रै संग आउँछ ! तर टिकटक र पब्जी उस्तै कुलत भनेर दाँज्नु अलिक ठिक लागेन ,टिकटकले मान्छेको लुकेको प्रतिभा लाइ प्रष्फुटन गर्न मदत गरेको छ पब्जी जस्तो कुलत नै भन्न अलिक नमिल्ला कि।

  •  0 Reply

तपाईको प्रतिक्रिया