मलेसियामा केही समस्या परेको छ ? दूतावासले गर्ने कार्यक्रममा सहभागी भएर सुनाउनुहोस्

 बैशाख ७, २०७६ शनिबार १३:१०:४ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ मलेसियामा हुनुहुन्छ ? तपाईँ समस्यामा हुनुहुन्छ भने मलेसियामा रहेको नेपाली दूतावासले गर्न लागेको कार्यक्रममा गएर आफ्ना समस्या राख्न सक्नुहुन्छ ।  

मलेसियामा रहेका नेपाली श्रमिकका समस्या सुन्न र विभिन्न जानकारी दिन दूतावासले मलेसियाको विभिन्न राज्यहरुमा कार्यक्रम गर्दैछ । 

राहदानीको आवेदन संकलन गर्ने, राहदानी जारी गर्ने, यात्रा अनुमतीपत्र जारी गर्ने, कागजात प्रमाणीकरण, सचेतना र समस्या सुन्नका लागि विभिन्न ठाउँमा कार्यक्रम गर्ने भएको हो । 

यही वैशाख १५ गते पाहाङको क्यामरुन हाइल्याण्डमा, २२ गते वातुपाहतको जोहरमा २९ गते कोताकिनावालुको साभामा नेपाली दूतावासले कार्यक्रम गर्दैछ । 

यस्तै दूतावासले आउँदो जेठ ५ गते इपो पेराकमा, १२ गते जोहर वारुको जोहरमा, १८ गते अलो सेतारको केडामा र २६ गते पेनाङमा श्रमिकका लागि कार्यक्रम गर्दैछ । 

असार १ गते लडवीको केडामा, असार ८ गते मिरीको सारावाकमा, असार १५ गते मेलाकामा र असार २१ गते कुवान्तानको पाहाङमा दूतावास श्रमिकका लागि कार्यक्रम लिएर पुग्दैछ । 

मलेसियाका विभिन्न राज्यमा काम गर्ने नेपाली श्रमिककालाई दूतावासले दिने सेवा, रोजगारी सुरक्षाका र कानूनी परामर्शका बारेमा जानकारी गराउने र श्रमिकका समस्या तथा गुनासा सुन्नका लागि कन्सुलर सेवा शिविर, श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको दूतावासले जनाएको छ । 

श्रमिककै लागि यो कार्यक्रम गरिएकाले मलेसियामा कार्यरत सबै नेपालीलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित हुन दूतावासले अनुरोध गरेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया