गोरखा दरबार पुनर्निर्माणको एक वर्ष : २० प्रतिशत मात्रै काम सकियो

 बैशाख ८, २०७६ आइतबार ८:२५:२३ | किरण लोहनी
unn.prixa.net

गोरखा – भूकम्पले क्षति पर्‍याएको गोरखा दरबारको पुनर्निर्माण सुरु भएको शनिबार एक वर्ष पूरा भएको छ । गएको वर्ष वैशाख ७ गते विधिपूर्वक जग पूजा गरी पुनर्निर्माणको काम औपचारिक रुपमा सुरु भएको थियो । 

तर एक वर्षको अवधिमा पुनर्निर्माणको करिब २० प्रतिशत मात्रै काम सकिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । ‘एक वर्ष भैसक्यो, अहिलेसम्म जगको काम मात्रै सकिएको छ, काम निकै सुस्त छ’ हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलले भन्नुभयो, ‘ठेकेदार पनि बेला–बेला मात्रै झुल्किन्छन्, यसो काम सुरु भए जस्तो हुन्छ, फेरि रोकिन्छ ।’ यो पटक पनि झण्डै डेढ महिनादेखि काम ठप्प छ । ‘दुई चार दिन पहिले जगको पीसीसी गर्ने काम भएको छ, अब १०/१५ दिन त्यसलाई सुक्न दिनुपर्छ भनेका छन्’ कट्टेल भन्नुहुन्छ, ‘आउँदो वर्षको कात्तिकमा निर्माण सकिनु पर्ने सम्झौता छ, यही गतिले त म्यादभित्रै काम पूरा हुनै सक्दैन ।’ 

पछिल्लो पटक भने ठेकेदारले आवश्यक निर्माण सामग्री समयमै जुटाउन नसक्दा पुनर्निर्माणको काम ठप्प भएको हो । ‘जगको काम सकिएपछि अब काठको काम सुरु हुनुपर्ने तर पहिलो तल्लाका लागि आवश्यक पर्ने काठ ठेकेदारले समयमै जुटाउन सकेनन्’ उहाँले भन्नुभयो, ‘पहिलो तल्लाको ढोका, थाम, लकासीलगायत कामका लागि तत्काल २ सय क्युविक फिट काठ आवश्यक पर्छ, ठेकेदार काठको खोजिमा लागेका छन् भन्ने बुझेको छु, तर कार्यस्थलमा काठ आइपुगेको छैन ।’ जगको काम सुरु हुँदै गर्दा काठको बन्दोबस्त गर्नुपर्नेमा ठेकेदारले ढिलाइ गर्दा काम रोकिएको कट्टेलको भनाइ छ । यसअघि पनि पुनर्निर्माणको काम पटक–पटक रोकिने गरेको थियो । लामै समय पुननिर्माणको काम रोकिएपछि हेरचाह अड्डाले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको छ । 

‘काम सुस्त गतिमा भएपछि कार्यालय प्रमुखहरुको पछिल्लो बैठकमा मैले यसबारे कुरा उठाएँ’ हेरचाह अड्डाका निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कट्टेलले भन्नुभयोे, ‘बैठकले सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

बैठकमा गोरखा दरबार पुनर्निर्माणमा भएको सुस्तताबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘कार्यालय प्रमुखको बैठकको निर्णयसहित हेरचाह अड्डाले पुरातत्व विभागमा पत्राचार गर्छ, प्रशासनका तर्फबाट हामी पनि विभागको ध्यानाकर्षण गराउँछौँ ।’ देशको ऐतिहासिक धरोहरको पुनर्निर्माण अलपत्र पर्दा राम्रो सन्देश नजाने भएकाले सबै मिलेर पुनर्निर्माणको अवरोध हटाउनु पर्ने उहाँले बताउनुभयो । 

२०७२ सालको भूकम्पले क्षति पर्‍याएको गोरखा दरबार पुननिर्माणका लागि २०७४ सालको कात्तिकमा पचली सिभाको जेभी नामक ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।  ठेक्का सम्झौता अनुसार आउँदो वर्षको मंसिरसम्ममा दरबार पुनर्निर्माणको काम सकिनु पर्ने हुन्छ । तर अहिलेसम्म २० प्रतिशत मात्रै काम सकिएको छ ।

पुनर्निर्माणका लागि ऐतिहासिक दरबार जगैसम्म भत्काइएको छ । पुनर्निर्माणका लागि ठेकेदार कम्पनीसँग ४ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौता अनुसार काम सुरु भएको साढे दुई वर्षमा पुनर्निर्माण सकिसक्नु पर्नेछ । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया