सगरमाथा क्षेत्रमा संकलित फोहोर काठमाण्डौमा

 बैशाख ८, २०७६ आइतबार ८:४८:५० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सगरमाथा क्षेत्रमा संकलन भएको फोहोर काठमाण्डौ लगिएको छ । सरसफाइ अभियान नै सञ्चालन गरी संकलन गरिएको १ हजार किलोग्राम फोहोर शनिबार काठमाण्डौ लगिएको हो । 

नेपाली सेनाको हेलिकप्टर मार्फत १ हजार किलोग्राम फोहोर काठमाण्डौ र एक हजार किलोग्राम फोहोर ओखलढुंगा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । 

स्थानीय स्तरमा व्यवस्थापन गर्न सकिने वस्तुलाई नाम्चे क्षेत्रमा नै व्यवस्थापन गरिएको छ । केही कुहिने बस्तुसहितको फोहोरलाई ओखलढुंगा र नकुहिने सिसाको बोत्तलजस्ता प्रशोधन गर्न सकिने बस्तुलाई काठमाण्डौ पठाइएको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिनुभयो । 

१२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सगरमाथा क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा फोहोर संकलन गरिएको हो । 

वैशाख १ गतेदेखि सुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदुषण नियन्त्रण समितिको सहभागिता रहेको छ ।

यो टोलीले पाँच दिन लगाएर लुक्ला, टोकटोक, जोरसल्ले, नाम्चे, फोरचे, थामे, स्याङ्बोचे लगायतको क्षेत्रबाट संकलन गरेको फोहोर पठाएको हो । जेठ २२ गतेसम्म जारी रहने यो अभियानमा सगरमाथाको चुचुरोसम्म नै सफाइ गर्ने बताइएको छ । सगरमाथा आधारशिविरसम्म दैनिक ३० जनाको टोलीले सरसफाइ गर्ने, सरमाथाको चुचुरोसम्म ८ जनाले काम गर्ने सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसीका)का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिनुभयो । 

सगरमाथा क्षेत्रमा फोहोर बढेको प्रति सर्वत्र चिन्ता व्यक्त भैरहेको बेला सगरमाथा दिवसको अवसर पारेर सफाइ अभियान सञ्चालन गरिएको हो । हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकका कारण उत्पन्न फोहोर व्यवस्थापनमा चुनौती भैरहेको बेला यस्ता अभियानले महत्वपूर्ण भुमिका खेल्ने पर्यटन व्यवसायीले विश्वास लिएका छन् । 

संकलन गरी काठमाण्डौ लगिएको फोहोरलाई विश्व वातावरण दिवस (जुन ५) का दिन काठमाण्डौमा प्रदर्शन गरी ‘ब्ल्यू वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरिने छ । 

४५ दिनसम्म चल्ने सफाइ अभियानमा २ करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने बताइएको छ । अभियानका लागि खुम्बु पासाङल्ह्यामु गाउँपालिकाले ३० लाख तथा नेपाल पर्वतारोहण संघले २० लाख र विश्व वन्यजन्तु कोषले २० लाख सहयोग गर्ने जनाएका छन् ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया