डा. केसीको चेतावनी : भद्र अवज्ञा गरेर अनसन बस्ने

 असार १६, २०७५ शनिबार ७:३९:५४ | नेत्र शाही

जुम्ला – डाक्टर गोविन्द केसीको जुम्लामा गर्न लाग्नु भएको १५ औँ अनसनलाई प्रतिबन्ध लगाइएको छ । 

स्वास्थ्य क्षेत्रका विभिन्न मागहरुसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आफ्नो अनसन तयारी थालेका डाक्टर केसीलाई  लक्षित गरी जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति जारी गरेपछि डाक्टर केसीको अनसन प्रभावित भएको छ । 

राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक तोडमोड गरेर फरक शैलीमा ल्याउन खोजिएको भन्दै १५ औँ अनसन जुम्लामा तयारी गर्ने घोषणा गरेका केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्ला भन्दा २०० मीटर वरिपरि अनसन गर्न नपाउने उल्लेख गरेको छ । 

सूचनामा भनिएको छ, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्लाभन्दा २०० मिटर वरिपरि कुनै पनि अनसन, आन्दोलन तथा नाराजुलुस जस्ता विरोधका कार्यक्रमहरु गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिएको छ ।’ 

प्रशासनले निषेधित क्षेत्र तोकेपछि असार १५ गते गर्ने भनिएको अनसन प्रभावित भएको छ । तर डाक्टर केसीले राज्यले गरेको यो काम एकतन्त्रीय शासनको नमूना भएको भएको बताउनु भएको छ । उहाँले आफू जनताको रैती भएको भन्दै संविधानले ग्यारेण्टी गरेको अधिकार कुल्चने अधिकार सरकारलाई नभएको आरोप बताउनुभयो । उहाँले यो काम राज्यले आफै गर्नुपर्ने तर आफूले आवाज उठाउँदा पनि नगर्ने काम राम्रो नभएको बताउनुभयो । डां केसीले जसरी पनि जुम्लामा अनसन बस्ने दावीसमेत गर्नुभयो । 

राति अबेर जुम्ला आइपुग्नु भएका डांक्टर केसीले राज्यले आफ्नो स्वतन्त्र अधिकारमाथि लगाएको प्रतिबन्धले आफूलाई केही असर नगर्ने र प्रतिबन्ध लगाइए भद्र अवज्ञा गर्ने चेतानीसमेत दिनुभएको छ । 

जुम्लामा कडा सुरक्षा 

नेपालगञ्जबाट कर्णाली राजमार्गहुँदै डाक्टर केसी भने राति ८ बजे जम्ला आइपुग्नुभएको थियो । डाक्टर केसी जुम्ला आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि चौतर्फी चासो देखिएको थियो । केसीले जुम्लाको सीमानामा प्रवेश गरेको खबर पाएपछि सुरक्षाकर्मीहरु बाक्लो मात्रामा परिचालन भएका देखिन्थे । अघिपछि खाली हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल परिसरमा सुरक्षार्थ खटिएका प्रहरीहरु धेरै हुनुका साथै चहलपहल निकै बढ्दो थियो ।

प्रतिष्ठान परिसरमा पत्रकारहरुले पनि दुृई घण्टा अगाडि देखि कुरिरहेका थिए । प्रतिष्ठानका कर्मचारीहरु पनि निकै चासो लिइरहेका थिए । तर एकाएक जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति सार्वजनिक भएपछि प्रतिष्ठानबाट भिड पातलो हुँदै गएको थियो ।

जुम्लालाई मेडिकल हब बनाउन अनसन रोजेको हूँ : केसी

डाक्टर केसी जुम्लाको होटल स्नोल्याण्डको कोठा नम्बर ३०५ मा  भाइ इश्वर केसीसँगै बसिरहनु भएको छ ।  केसी बसेको होटल परिसरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । होटल स्नोल्याण्डमा भेट्न गएका पत्रकारहरुसँग डाक्टर केसीले शनिबार पत्रकार सम्मेलन गरी थप आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

उहाँले प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णालीलाई हेला गरेर पछाडि पारिएको  भन्दै अब कर्णालीलाई मेडिकल हब बनाएरै छाड्ने बताउनुभयो ।  एमबीबीएस, एमडीजीपी कार्यक्रमहरु सञ्चालनका लासग आफू अनसन बसेरै छाड्ने पनि डाक्टर केसीले दोहोर्याउनुभयो ।  

विधेयक तुहाइयो  

हरेक प्रदेशमा मेडिकल कलेज स्थापना र स्तरवृद्धिको विषयमा व्यवस्थापन ढिलाई भएको भन्दै मेडिकल कलेज स्थापनमा उपत्यका बाहिरलाई प्रथामिकता दिनुपर्ने बताउँदै केसीले अहिलेको सरकारले यो गर्न नसकेको आक्रोश समेत पोख्नुभयो । उहाँले  सत्तामा पहुँच हुनेहरुका लागि सहज हुने गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न लागिएको भन्दै आक्रोश पोख्नुभयो ।

उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको व्यापारीकरणको अन्त्य नभएसम्म सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको कल्पना गर्न नसकिने भन्दै सरकारले शिक्षालाई व्यापारको रुपमा लिन नहुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया