इण्डियन प्रिमियर लिग : कोलकाता हैदराबादसँग ९ विकेटले पराजित

 बैशाख ९, २०७६ सोमबार ७:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा कोलकाता नाइट राइडर्स सनराइजर्स हैदराबादसँग ९ विकेटले पराजित भएको छ । 

हैदराबादमा भएको खेलमा कोलकाताले दिएको १६० रनको लक्ष्य घरेलु टिमले ३० बल बाँकी रहँदा एक विकेट गुमाएर पूरा गर्‍यो । हैदराबादको जितमा ओपनर ब्याट्म्यानहरु डेविड वार्नर र जोनी बेइस्र्टले पहिलो विकेटका लागि १३१ रनको उत्कृष्ट साझेदारी गरे ।

यी दुई ब्याट्स्म्यानले ७४ बलमा १३१ रन बनाएका हुन् । ब्यक्तिगततर्फ बेइस्र्टले ४३ बलमा अविजित ८० रन बनाए । उनले ७ चौका र चार छक्का प्रहार गरेका थिए । वार्नरले भने ३८ बलमा तीन चौका र पाँच छक्काको सहयोगमा ६७ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । उसका लागि क्रिश लिनले ५१ रनको अर्धशतकीय पारी खेले । रिंकु सिंहले ३० रन बनाए भने सुनिल नराइनले ८ बलमा २५ रनको योगदान दिए । आन्द्रे रसेलले पनि ९ बलमा १९ रन जोडे । 

बलिङतर्फ खालिल अहमेदले तीन विकेट लिए भने भुवनेश्वर कुमारले दुई विकेट हात पारे । जितसँगै हैदराबादले ९ खेलबाट १० अंक बनाएको छ । कोलकाताको भने समान खेलबाट ८ अंक छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया