अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
गोरखा – अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरि मुद्धा चलाएको छ ।
गण्डकी गाउँपालिका– ७ घ्याल्चोकस्थित त्रिशुली नदी किनारबाट शनिबार प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नदीबाट बालुवा, ढुंगा, गिटीलगायतका सामग्री निकालिरहेको बेलामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा एक्साभेटर चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ५ का २५ वर्षका राजिव सिलवाल, टिप्पर चालकहरु धादिङकै गजुरी गाउँपालिका –६ का २७ वर्षका आइतराज मोक्तान, ३७ वर्षका मुक्त तामाङ र २७ वर्षका नवराज तामाङ रहेका छन् ।
जिल्ला अनुगमन तथा समन्वय समितिले शुक्रबार अनुगमनका क्रममा एक्साभेटर प्रयोग गरेर उत्खनन् गरिरहेको भेटेपछि प्रहरीलाई जानकारी गराएको थियो ।
अनुगमनका क्रममा यो ठाउँमा गाउँपालिकाले नदीजन्य सामग्री संकलनको ठेक्का नलगाएको पनि पाइएको समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताउनुभयो । अनुगमन समितिले जानकारी गराएको केही समयमा नै उनीहरुलाई घ्याल्चोक आसपासबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका चारैजनाविरुद्ध आइतबार प्राकृतिक सम्पदाको दोहनसम्बन्धी मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्नेविरुद्ध जिल्लामै पहिलो पटक यस प्रकारको मुद्धा दर्ता गरिएको हो । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ४९ मा भएको व्यवस्था अनुसार जिल्लामा पहिलो पटक मुद्धा दर्ता भएको प्रहरी उपरीक्षक भोला रावलले बताउनुभयो ।
यो दफामा उल्लेख प्राकृतिक सम्पदा माथि अतिक्रमण गर्न नहुनेसम्बन्धी व्यवस्था अनुसार मुद्धा चलाइएको उहाँले बताउनुभयो । यो दफामा अतिक्रमणमा संलग्नलाई बिगो खुलेमा बिगो बमोजिम र नखुलेमा १० लाख रुपैयाँसम्म जरिवाना र १० वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।