श्रीलंकामा श्रृंखलाबद्ध विस्फोट : ज्यान गुमाउनेको संख्या २९० पुग्यो, २४ जना गिरफ्तार

 बैशाख ९, २०७६ सोमबार ११:४५:२ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा आइतबार भएका श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या २९० पुगेको छ ।

अहिलेसम्म भएका आठ बम विस्फोटमा २ सय ९० जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै पाँच सय जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमा ३६ जना विदेशी नागरिक पनि रहेका छन् । यो घटनामा २४ जनालाई गिरफ्तार गरिएको बीबीसीले उल्लेख गरेको छ । 

आक्रमणको जिम्मा भने अहिलेसम्म कसैले पनि लिएको छैन । सन् २००९ मा गृहयुद्ध सकिएपछि श्रीलंकामा भएको यो आक्रमण अहिलेसम्मकै ठूलो हो ।  

आइतबारको श्रृंखलाबद्ध विस्फोटपछि श्रीलंकामा कर्फ्यू लगाइएको छ । २ सय भन्दा धेरै जनाको ज्यान जाने गरी विभिन्न होटल र चर्चमा आक्रमण भएपछि देशभरी नै कर्फ्यू लगाइएको हो । 

श्रीलंकाली सरकारले आइतबार भएको सिलसिलाबद्ध बम विस्फोटमा आत्मघाती समूहको हात रहेको जनाएको छ । यो घटनाको योजना विदेशमा बनाइएको श्रीलंकाली सरकारले दाबी गरेको छ । 

गिरफ्तार गरिएका सबैजना श्रीलंकाका नागरिक हुन् । गिरफ्तार गरिएकामध्ये कसैको अन्तर्राष्ट्रिय संगठनसँग सम्बन्ध छ कि छैन भनेर जाँच चलिरहेको छ ।
 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया