'फास्ट ट्र्याक' बाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान ग...
बैशाख १३, २०८१ बिहिबार
पर्वत – आफूलाई सादा पोशाकको प्रहरी भएको बताउँदै चोरी डकैतीमा संलग्न एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।
प्रहरीले पर्वतको जलजला गाउँपालिका–६, शालिजाका २१ वर्षीय रेशम सुवेदीलाई आइतबार दिउँसो कुश्मा नगरपालिक स्थित कुश्माबजारको शिवालयचोकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सुवेदीले छिमेकी जिल्ला बाग्लुङ र पर्वतका विभिन्न स्थानहरुमा चोरी गरेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पक्राउ परेका सुवेदीले आफू सादा पोशाकको प्रहरी भएको र विभिन्न घटनामा संलग्न व्यक्तिहरुलाई खोजी कार्यका लागि आएको बताउँदै घर कोठामा पसेर चोरी गर्दै आएका थिए ।
आरोपित सुवेदीले बाग्लुङ नगरपालिका १४ बलेवा बस्ने छत्रमान सुवेदीको घर कोठाबाट एक थान मोबाइल र नगद ३३ हजार, पर्वत कुश्मा नगरपालिका २ खुर्काेट बस्ने गायत्री उपाध्यायको घरकोठाबाट नगद ६ हजार, पर्वत जलजला गाउँपालिका ३ माझफाँट बस्ने लक्ष्मी जिसीको घरकोठाबाट ६ हजार नगदसहित एक तोलाको सुनको सिक्री र आधा तोलाको सुनको बेरुवा औँठीलगायतका जिन्सी तथा नगद चोरी गरेको खुल्न आएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चोरी घटनाका आरोपित सुवेदी यसअघि २०७२ मंसिरमा चोरीसम्बन्धी कसुरमा नै नियन्त्रणमा रहेर पर्वत जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय भुक्तान गरेर २०७५ माघमा छुटेका थिए ।
पटक–पटक एउटै घटनामा संलग्न रहेको पाइएपछि पर्वत प्रहरीले आरोपित सुवेदीलाई चोरीसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।