डाक्टर केसीको अनसन रोक्न सुरक्षाकर्मीको बाक्लो उपस्थिति

 असार १६, २०७५ शनिबार १२:४६:३२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – आफ्नो १५ औँ अनसनस्थलका रुपमा  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डाक्टर गोविन्द केसीलाई २ सय मिटर अगाडि  नै प्रहरीले रोकेको छ ।

शुक्रबार कर्णाली प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय , प्रहरी कार्यालयबाट २ सय मिटर दूरीमा जिल्ला प्रशासन कार्यालयले  अनसन प्रतिबन्ध गरिएको सूचना जारी भएपछि डाक्टर केसीको अनसन प्रभावित भएको छ । 

जुम्लाको स्नोल्याण्ड होटलमा बसेका डाक्टर केसीले अनसनका लागि भन्दै प्रतिष्ठानतिर लाग्दै गर्दा टुँडिखेलको माथिल्लो गेटमा रोकेको हो । डाक्टर केसीले भने प्रतिष्ठानमै अनसन बस्ने जिद्धी गरिरहनु भएको छ । चिकित्सा विधेयक तोडमोड गरिएको भन्दै जुम्लामा अनसन बस्ने तयारीमा  रहेका केसस्लाई अहिले स्थानीयको सहयोगमा बाटोमै प्लाष्टिकको कुर्सी राखेर बसालिएको छ । 

बाटोमै अनसन बस्ने चेतावनी 

प्रतिष्ठान जान नदिए बाटोमै अनसन बस्ने केसीले चेतावनी दिनुभएको छ । केसी बाटोमै बसेको जुम्लाको टुँडिखेल कडा सुरक्षा घेराभित्र राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले सुरक्षा घेरा कडा पारेका छन ।  केसीको समर्थकमा स्थानीयले अस्पताल जान दिनुपर्ने बताएका छन । अस्पताल रोड अहिले निकै  तनावग्रस्त भएको छ ।
 

डाक्टर केसी जुम्ला पुगेकै दिन सरकारले उहाँसँग गरिएका सम्झौता विपरीत काठमाडौंमा पनि नयाँ मेडिकल कलेज खोल्न पाउने गरी चिकित्सा शिक्षा विधेयक अघि बढाएको छ । 

सरकारले संसदमा हिजो दर्ता गरेको यो विधेयक पारित भएमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको लगानी रहेको काठमाडौंको मनमोहन मेमोरियल कलेज र झापाको बी एण्ड सी कलेजले पनि सम्बन्धन पाउने छन् । यसअघि काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने गरी सरकारले डाक्टर केसीसँग सहमति गरेको भए पनि विधेयकमा कलेज खोल्न पाउने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया