एक वर्षमा साढे चार लाख पर्यटक भित्रिए कर्णालीमा

 बैशाख १०, २०७६ मंगलबार ७:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत– कर्णाली प्रदेशमा एक वर्षमा साढे चार लाख पर्यटक भित्रिएका छन् । चार लाख ५४ हजार ८ सय ६४ आन्तरिक र २१ हजार २ सय ९१ बाह्य पर्यटक गरी चार लाख ७६ हजार १ सय ५५ पर्यटकले कर्णाली पुगेका हुन् । 

प्रदेश सरकारले २०७५ सालमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ वैशाख १ गते राराबाट कर्णाली–रारा पर्यटक वर्षको उद्घाटन गर्नुभएको थियो । पर्यटन वर्षमा सरकारले निर्धारण गरेको लक्ष्य प्राप्त नभए पनि पछिल्लो समय कर्णालीमा आन्तरिक र बाह्य पर्यटकको पर्यटकहरुको चहलपहल उत्साहजनक रहेको सरकारले दाबी गरेको छ । 

कर्णाली–रारा पर्यटन वर्षको घोषणासँगै कर्णालीमा आन्तरिक पर्यटकको गतिशीलता सन्तोषजनक रहेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताउनुभयो ।

आन्तरिक मात्र नभएर पछिल्लो समय कर्णालीमा बाह्य पर्यटकको आगमन पनि बढेको मन्त्रालयले जनाएको छ । यसअघि सुर्खेत, मुगु, हुम्ला र डोल्पामा मात्र बाह्य पर्यटक आउने गरेकोमा यस वर्ष कर्णालीका सबै जिल्लामा बाह्य पर्यटक पुगेका छन् । मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ८ सय ६४ बाह्य पर्यटकले कर्णाली घुमेका थिए भने २०७५/०७६ मा त्यो संख्या बढेर २१ हजार २ सय ९१ पुगेको छ । बाह्य पर्यटक सबैभन्दा बढी हुम्लामा पुगेका छन् । 

मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आन्तरिक पर्यटक सबैभन्दा बढी सुर्खेतमा आएका छन् । सुर्खेतमा मात्रै एक लाख ६२ हजार ८ सय ६१ आन्तरिक र ६ सय ५४ बाह्य पर्यटकले भ्रमण गरेका छन् । यस्तै दैलेखमा ३८ हजार ६ सय ६८ आन्तरिक र १४ बाह्य पर्यटक पुगेका छन् ।

त्यसैगरी जाजरकोटमा ५८ हजार ८ सय ६५ आन्तरिक र ७ जना बाह्य, रुकुम पश्चिममा ६ हजार ६ सय ५८ आन्तरिक र १३ जना बाह्य, सल्यानमा ३६ हजार एक सय ५० आन्तरिक र ९ जना बाह्य,  कालिकोटमा ३१ हजार ३ सय ५७ आन्तरिक र २१ बाह्य, जुम्लामा ७७ हजार ६ सय १४ आन्तरिक र ६२ जना बाह्य, मुगुमा १३ हजार ७ सय ९५ आन्तरिक र ५२ जना बाह्य, हुम्लामा २० हजार पाँचसय ४५ आन्तरिक र १७ हजार १३ सय ८९ बाह्य तथा डोल्पामा ८ हजार ३ सय ५४ आन्तरिक र २ हजार ६ सय ८८ बाह्य पर्यटक भित्रिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग सिधा हवाई यात्रा जोडिनु र स्थानीय मेला तथा महोत्सवहरु आयोजना हुनुले पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको मन्त्रालयले जनाएको  छ । गएका वर्षहरुको तुलनामा यस वर्ष कर्णालीको पर्यटक वृद्धिदर ३४ दशमलव २ प्रतिशत पुगेको छ । 

बाह्य पर्यटकहरुको वृद्धिले पनि उत्साह थपेको मन्त्री सिंहले बताउनुभयो । कर्णालीको पर्यटन प्रर्वद्धनका लागि मन्त्रालयले प्रचारप्रसार, पर्यटन पदमार्गको निर्माणलगायतका कामहरु भइरहेको उहाँले जानकारी दिनुभयो । ‘प्रदेश सरकारले पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका योजना तर्जुमा गरेर काम गर्नुपर्ने छ’ उहाँले भन्नुभयो, ‘कर्मचारी अभावलगायत विभिन्न कारण हामीले सोचे अनुसार काम गर्न सकेनौँ । अब हामी पर्यटन क्षेत्रमा केही देखिने गरी काम गर्छौँ ।’

पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी 

मन्त्रालयले कर्णालीका घुम्नलायक पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी गरेको छ । प्रदेशमा रहेका पर्यटकीय गन्तव्यको पहिचान गरेर केही दिनमा नै घोषणा गरिने मन्त्री बुढाले जानकारी दिनुभयो । यसका लागि कर्णाली प्रदेशकका सबै स्थानीय तहसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

‘सबै स्थानीय तहले त्यहाँ भएका पर्यटकीय स्थलहरुको नाम पठाउनु भएको छ’ उहाँले भन्नुभयो, ‘केही दिनमा हामी प्रदेशमा रहेका एक सय एक पर्यटकीय स्थलको घोषणा गर्छौँ ।’ उहाँले मन्त्रालयले अब प्रदेशमा पर्यटक प्रवर्द्धनको लागि कर्णाली पर्यटन बोर्ड गठन गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो । कर्णाली प्रदेशको पर्यटनको गुरुयोजना बनाउने तयारी पनि गरेको बताउनुभयो ।

‘पर्यटन वर्ष उद्घाटनमा अनियमितता भएको छैन’

सरकारले कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्चमा कुनै पनि अनियमितता नगरेको मन्त्री बुढाले दाबी गर्नुभयो । उहाँले महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षणमा ७८ लाख १६ हजार ९६ रुपैयाँ ५६ पैसा खर्च भएको जानकारी दिनुभयो ।

‘कार्यक्रममा भएको खर्च महालेखा परीक्षकको कार्यालयले पनि लेखापरीक्षण गरेको छ’ उहाँले भन्नभयो, ‘खर्च गर्दा सकेसम्म मितब्ययी, नियमसङ्गत, पारदर्शी तथा उचित किसिमले भएको छ ।’ 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया