बीमा गरेकालाई अस्पतालमा छुट्टै ‘बीमा ओपीडी’

 बैशाख १०, २०७६ मंगलबार ९:५७:१९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - निशुल्क स्वास्थ्य बीमा गरेका बिरामीका लागि भरतपुर अस्पतालले छुट्टै बहिरङ्ग सेवा विभाग(ओपीडी) स्थापना गरेको छ ।

चितवनमा बीमा गर्नेको संख्या बढे पनि उपचार व्यवस्थापनमा सहजता हुन नसक्दा समस्या देखिँदै आएको थियो । बीमा गरेका बिरामीको चाप बढ्दै गएपछि सहज व्यवस्थापनका लागि छुट्टै ओपीडी स्थापना गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा बीमा गरेका बिरामीको चाप बढ्दै गएको र समयमा उपचार नपाएको गुनासो आएका कारण छुट्टै ओपीडी खोलेर सेवा दिन थालिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा कृष्ण पौडेलले बताउनुभयो । टिकट काट्नेबित्तिकै सेवा दिन सकिनेगरी ओपीडी स्थापना गरिएको बताउँदै उहाँले बीमाको ओपीडीमा हरेक दिन ४ जना चिकित्सकसहितको टोली रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

हरेक दिन बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिन सक्नेगरी ओपीडी खोलिएको बताउँदै उहाँले सामान्य परीक्षण र आवश्यकता अनुसार रिफर गर्नेगरी वैशाख २ गतेदेखि अस्पतालले छुट्टै ओपीडी खोलेको बताउनुभयो । पछिल्लो समय बीमाका बिरामीलाई प्रथम सेवा विन्दुको रुपमा प्राथामिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकिएकोले सरकारी अस्पतालमा बिरामीको भिड लाग्ने गरेको छ ।

नि:शुल्क स्वास्थ्य बीमा अन्तर्गत देशका ४२ जिल्ला मध्ये चितवनमा सबैभन्दा बढी संख्यामा बीमा गरेका छन् । बीमाप्रतिको आम नागरिकको आकर्षण बढेको भएपनि उपचार पद्धतिमा सहज व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको हो ।

स्वास्थ्य बीमा बाेर्ड चितवनकी प्रमुख निर्मला भट्टराईका अनुसार बीमा कार्यक्रम लागु भएका ४२ जिल्लामध्ये चितवन उत्कृष्ट जिल्लामा परेको छ । दुई लाख भन्दा बढीले स्वास्थ्य बीमा गरेको जानकारी दिँदै उहाँले स्वास्थ बीमाप्रति आम नागरिकको आकर्षण बढेको बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य राम्रो भएपनि सेवा दिने क्रममा औषधीको मूल्यमा एकरुपता हुन नसक्नु, अस्पतालमा बढ्दै गएको विमारीको चापको व्यवस्थापन सहज रुपमा हुन नसक्नुले पछिल्लो समय समस्या देखिएको हो । स्वास्थ्य बीमा गरेपछि अस्पतालमा सेवा लिन जाँदा उपचारमा सहजता नभएको र औषधी खरिद गर्दा एउटै औषधीको फरक फरक मूल्य पर्ने गरेको गुनासो बढेको छ ।   

बीमा भएका र नभएका बिरामीमा विभेद नगरिएको बताउँदै भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बिरामीलाई समान व्यवहार गरी औषधी उपचारको सेवा दिइरहेको बताउनुभयो । बीमा गरेका बिरामी अस्पतालमा आएपछि सफ्टवेयर प्रणालीमा बीमा कार्ड अपडेट गर्नुपर्ने र अभिलेख राख्नुपर्ने भएकाले केही समय लागे पनि अन्य उपचार सेवामा ढिलाई गर्ने फरक गर्ने भन्ने कुरामा सत्यता नभएको बताउनुभयो । 

जिल्लामा स्वास्थ्य बीमा गर्नेहरुको उपचारका लागि प्रथम सेवा विन्दुको रुपमा जुटपानी प्रथामिक स्वास्थ्य केन्द्र,खैरहनी प्रथामकि स्वास्थ केन्द्र, शिवनगर प्रथामिक स्वास्थ्य केन्द्र,रत्ननगर र बघौडा अस्पताल रहेको छ । यी प्रथम सेवा विन्दुमा पुगेर रिफर भएपछि सरकारी अस्पताल र नीजी अस्पताल दुई ठुला मेडिकल कलेजमा उपचार गर्न पाउने व्यवस्था रहेको छ । भरतपुरमा आँखा अस्पतालमा सिधै जान सकिने व्यवस्था रहेको छ । 

बीमा गराउनका लागि चितवन जिल्लामा १२४ जना अभिकर्ताको रुपमा दर्ता सहयोगी क्रियाशील रहेका छन् । बीमा गराउँदा पाँचजनासम्मको परिवारलाई वार्षिक दुई हजार पाँच सय  र त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप गर्नुपर्ने व्यवस्था रहेको छ ।

अहिले बीमा गरेका परिवारले पाँचजनाको वार्षिक रुपमा ५० हजारसम्मको उपचार गर्दा रकम तिर्नु पर्दैन । त्यसैगरी व्यक्ति थप भएमा प्रतिव्यक्ति १० हजारसम्मको बीमा रकम थपिने छ । स्वास्थ्य बीमा गर्नेले  स्वास्थ्य परीक्षण, प्रयोगशाला, शल्यक्रिया, औषधिलगायत बीमाले समेट्ने गर्छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया