व्यावसायिक दूध उत्पादक किसान समूहलाई अनुदानमा ‘चिलिङ भ्याट’ प्रदान

 बैशाख १०, २०७६ मंगलबार १३:८:९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकाको पशु सेवा शाखाले सुन्दरबजार नगरपालिका–७, पाउँदीमा रहेको दशरथ गाईपालक समूहलाई ७५ प्रतिशत अनुदानमा दुग्ध चिस्यान उपकरण ‘चिलिङ भ्याट’ प्रदान गरेको छ ।

२ लाख ४५ हजार मूल्य पर्ने ‘चिलिङ भ्याट’ यस समूहले अनुदानस्वरुप ६० हजार रुपैयाँमै पाएको छ ।     

किसानहरुले संकलन गरेको दूध नबिग्रियोस् र किसानलाई मार नपरोस् भन्ने उद्धेश्यले नै दशरथ गाईपालक समूहलाई दूध चिस्यानका लागि अनुदानमा ‘चिलिङ भ्याट’ उपलब्ध गराइएको सुन्दरबजार नगरपालिकाको पशु सेवा शाखाका प्रमुख डा. शुलव चौधरीले जानकारी दिनुभयो ।     

दशरथ गाईपालक समूहका अध्यक्ष धु्रवराज पोखरेलका अनुसार समूहमा २९ जना व्यावसायिक गाईपालक किसान आबद्ध छन् ।

किसानले उत्पादित दूध सामूहिक रुपमा संकलन गर्दै आएका छन् ।

‘यस समूहमा हामी २९ जना किसान आबद्ध छौँ । हामीहरुले व्यक्तिगत रुपमा गाई पाल्दै आएका छौँ । उत्पादित दूध हामी एकैठाउँमा संकलन गर्ने गरेका छौँ,’ उहाँले भन्नुभयो ।    

उहाँका अनुसार दैनिक ६ सय ७० देखी ६ सय ८० लिटरसम्म दूध संकलन हुने गरेको छ । संकलित दूधबाट उनीहरुले दूधका विभिन्न परिकार बनाएर बेच्ने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया