फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई प्रचण्डकाे आग्रह

 बैशाख १०, २०७६ मंगलबार १४:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गर्नु भएको छ । 

अध्यक्ष दाहालले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी/जनजाति समूदायलाई पनि सचेत गराउनु भयो । उहाँले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो ।

मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरुको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आदिवासी/जनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दबाब दिने गरी बृहत बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

अध्यक्ष दाहालले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई  दबाब दिन जरुरी रहेको पनि बताउनु भयो । उहाँले संविधानमा किटान गरिएको आदिवासी/जनजातिहरुको पहिचान अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामा समेत सरकारको परिकल्पना गरिए पनि सो अनुसार काम हुन नसकेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन सबै जातिहरुको आत्मसम्मान हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनुको विकल्प नरहेको पनि दोहोर्‍याउनुभयो ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया