जिल्लामा पहिलो पटक विद्यालय बस: विद्यार्थीले शुल्क तिर्नु पर्दैन

 बैशाख १०, २०७६ मंगलबार १५:४४:५२ | राजु लामिछाने
unn.prixa.net

रुकुमपूर्व - जिल्लामै पहिलाे पटक एउटा सामुदायिक विद्यालयले आफ्नै बस सञ्चालन गर्ने भएको छ ।

सिस्ने गाउँपालिका वडा नं- ५ को रुक्मिणी माध्यामिक विद्यालयले यही शैक्षिक सत्रदेखि बस सञ्चालन गर्ने भएको हो । टाढाका विद्यार्थीलाई विद्यालय आउन जान समस्या परेपछि बस सञ्चालन गर्ने तयारी गरेको विद्यालयले जनाएको छ ।

विद्यालयको व्यवस्थापनतर्फको खर्चबाट १५ लाख र अरु विद्यालयको आन्तरिक कोष गरी रु.२१ लाख ७१ हजार २ सय रुपैयाँ माबस किनिसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले बताउनुभयो ।

३६ सिट रहेको बस स–साना विद्यार्थी र डेरामा पनि बस्न नसक्ने विद्यार्थीको सजिलोका लागि सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष समालको भनाइ छ । उक्त बस चढ्ने विद्यार्थीले बस चढे बापत कुनै पनि शुल्क तिर्नुपर्ने छैन । 

नजिकका विद्यार्थीलाई दैनिक विद्यालय ल्याउने र घर पुर्‍याउने गरिनेछ भने डेरामा बस्ने विद्यार्थीलाई हरेक शुक्रबार घर पुर्‍याइदिने तथा आइतबार विद्यालय ल्याइनेछ ।

बस किनेर विद्यालयमा ल्याइसकिएको प्रध्यानाध्यापक कृष्ण गौतमले बताउनुभयो । भन्सार छुट गरेर बस खरिद गरिएको गौतमको भनाइ छ । 

विशेषगरी भूमे गाउँपालिकाको सिसाघारी र त्यस आसपास, सिस्ने गाउँपालिकाको नाथीगाड, खोपिचार र त्यस आसपासका विद्यार्थीको सजिलोका लागि बस खरिद गरिएको विद्यालयले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया