आफ्नाे उमेर समूहभन्दा फरक तरिकाकाे भूमिकामा बलिउडका स्टार कलाकारहरु

 बैशाख १०, २०७६ मंगलबार १७:३७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

दशकौंदेखि बलिउडमा आफ्नो पहिचान बनाएर राज गरिरहेका स्टार कलाकारहरुको अहिले भने आफ्नो कम्फर्ट जोनबाट मोह भंग भएको छ ।

अभिनेता आमिर खान, सलमान खान, अजय देवगन, शाहरुख खानदेखि अभिनेत्रीहरु दीपिका पादुकोण, अनुष्का शर्मा, कंगना रनावत, तापसी पन्नु, भूमि पेडनेकर लगायत आफ्नो वास्तविक उमेर बाहेकका अनी आम मानिसहरुको भूमिकालाई पर्दामा उतारिरहेका छन् । 

अभिनेता सलमान खान फिल्म ‘भारत’ मा एक वृद्ध व्यक्तिको भूमिकामा देखिनेछन् । अजय देवगनले पनि  ‘गोलमाल रिटर्न्स’ मा ४९ वर्षीयको भूमिका परिणीति चोपडाका साथ निर्वाह गरे । उनको आगामी फिल्म ‘दे दे प्यार दे’ ५० वर्षको उमेरको व्यक्तिको भूमिकामा देखिँदैछन् ।

यस अघि अनुष्का शर्माले ‘सुई–धागा’ मा ग्ल्यामरभन्दा फरक एक साधारण गृहिणी महिलाको भूमिका निर्वाह गरिन । अभिनेता शाहरुख खानले फिल्म ‘जिरो’ मा एक पुड्का व्यक्तिको भूमिका निर्वाह गरे । 

बलिउड स्टारहरुमध्ये आमिर खानले सबैभन्दा पहिले कम्फर्ट जोनलाई तोडेका हुन् । आमिर खानको ‘गजिनी’ मा गरेको भूमिका, ‘तारे जमिन पर’, ‘पिके’ मा निर्वाह गरेको भूमिका एक आम नायकले गर्ने भूमिकाभन्दा फरक छ । बलिउडका पर्फेक्सनिष्ट आमिर खानले फिल्म ‘दंगल’ मा एक वृद्ध पिताको भूमिका निर्वाह गरिसकेका छन् ।  साथै उनको अब आउने फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा पनि एक मन्द बुद्धि भएको व्यक्तिको भूमिका निर्वाह गर्दैछन् । 

यस कुरामा अभिनेत्रीहरु पनि कम छैनन् । अभिनेत्री तापसी पन्नु र भूमि पेडनेकर फिल्म ‘साँड की आँख’ मा आफ्नो करियरको युवा अवस्थामा पनि ६० वर्ष पूरा गरेका हजुरआमाको भूमिका गरिरहेका छन् । तर यो कुरा केही वर्ष अघि भने थिएन ।

पहिले कलकारहरुको उमेरलाई लुकाइन्थ्यो । अभिनेताहरु आफ्नो वास्तविक उमेर लुकाएर कलेज उमेरको युवाको भूमिका लामो समयसम्म गर्थे । आफ्नो रोमान्टिक इमेजलाई बुढेसकालसम्म कायम राख्ने कोशिश गर्थे । 

अभिनेत्रीहरु ग्ल्यामरस भूमिकाभन्दा फरक भूमिका गर्न चाहँदैनथे । तर अहिले त्यो ट्रेण्ड परिवर्तन भएको छ । साथै दर्शकहरुले समेत आफ्ना मनपर्ने कलाकारले निर्वाह गरेको नयाँ अवतारलाई स्वीकार गरिरहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया