सगरमाथा चढ्न अनुमति लिनेको संख्या इतिहासकै बढी

 बैशाख १०, २०७६ मंगलबार १८:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  सगरमाथा चढ्नको लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीको संख्या अहिलेसम्मकै बढी भएको छ ।

यो वर्षको वसन्त ऋतुमा सगरमाथा चढ्नको लागि आजसम्म ३७५ जनाले अनुमति लिएका पर्यटन विभागका विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिनुभयो । दुई वर्षअघि सन् २०१७ मा सगरमाथा चढ्नको लागि ३७२ जनाले अनुमति लिएका थिए । अनुमति लिनेहरु ३८ वटा समूहमा आबद्ध छन् ।

सगरमाथा चढ्न अनुमति लिनेहरुमा पाँचवटा टोलीमा आबद्ध १३ जना नेपाली रहेका छन् । पर्यटन विभागबाट अनुमति लिने क्रम रहेकोले आरोहीको संख्या बढ्न सक्ने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउनुभयो ।

यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमाल चढ्न आजसम्ममा ९५ समूहका ८०३ आरोहीले अनुमति लिएका छन् ।

सगरमाथा आधारशिविरमा अहिले आरोही, आरोहण सहयोगी, व्यवस्थापनका कर्मचारी तथा भरियाहरुले भरिभराउ भएको छ । मानव बस्तीबाट टाढा रहेको आधारशिविरमा आरोही र सहयोगी बस्ने शिविरहरू कहाँ कहाँ रहने भनेर छुट्ट्याउने काम सकिएको विभागका महानिर्देशक घिमिरले बताउनुभयो ।

आरोहीहरुलाई समन्वय एवम् सहयोग गर्नको लागि विभागले सम्पर्क अधिकृत खटाउने गरेको छ । तर गएका वर्षहरुमा सम्पर्क अधिकृत आधारशिविरमा नबसेको गुनासो बढेकाले यस वर्ष कडाइ गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउनुभयो ।  

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया