नेपालको पुनर्निर्माणलाई दातृराष्ट्र र अन्तरराष्ट्रिय समुदायले प्रशंसा गरे: सीईओ ज्ञवाली

 बैशाख १०, २०७६ मंगलबार १८:२२:५५ | उज्यालो सहकर्मी

काठमाण्डाै - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासमा ८० प्रतिशत प्रगति भएको तथ्याङक सार्वजनिक गरेको छ ।

मंगलबार प्राधिकरणमा भएको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशिल ज्ञवालीले अनुदान सम्झौता गरेका झण्डै ७ लाख ६२ हजार भूकम्प प्रभावितमध्ये ६ लाख १२ हजार घर पुनर्निर्माण प्रकृयामा रहेको बताउनुभयो । तीमध्ये ३ लाख ८२ हजार घर बनेका र २ लाख ३० हजार घर निर्माणको चरणमा रहेका प्राधिकरणको तथ्याङक छ ।

सरकारले पुनर्निर्माणमा आर्थिक र प्राविधिक सहयोग गरेको छ । सीईओ ज्ञवालीले  प्राधिकरणले अपनाएको पुनर्निर्माण र पुर्नस्थापनाको मौलिक शैली पुनर्निर्माणमा हासिल भएको प्रगति र परिणामले सही छ भन्ने प्रमाणित गरेको बताउनुभयो । नेपालले मौलिक शैलीमा गरेको पुनर्निर्माणलाई दातृराष्ट्र र अन्तराष्ट्रिय समुदायले समेत प्रशंसा गरेका उहाँले दावी गर्नुभयो ।

उहाँले भूकम्पपछि नेपालले पुनर्निर्माणमा गरेका काम र प्रगति विश्वका लागि नमुनायोग्य र अनुकरणीय भएको समेत उल्लेख गर्नुभयो ।

प्राधिकरणले जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । त्यस्तै भूमिहीन, स्ववासी लगायतका समस्या पनि समाधान गर्ने चरणमा रहेको उहाँले बताउनुभयो ।

पुनर्निर्माणमा वित्तीय चुनौती कायम रहेको भन्दै सीईओ ज्ञवालीले यसबारेमा छलफल भैरहेको बताउनुभएको छ । संघीयता कार्यान्वयनको पाटो कर्मचारी समायोजनसँगै पुनर्निर्माणमा अनुभव हासिल गरेका कर्मचारी प्रदेश र स्थानीय तहमा खटिएपछि पुनर्निर्माणमा चुनौती थपिएको पनि उहाँको भनाइ छ ।

कर्मचारी अभावमा पुनर्निर्माण प्रभावित हुन नदिन संघमा समायोजन भएका कर्मचारी व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालसँग छलफल भैरहेको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • ईस्वोर बराकोटी

    April 23, 2019, 7:12 p.m.

    इन्जिनियरको आन्दोलनले काम रोकियको पनि समाचार बनाऊ न !

  •  0 Reply

तपाईको प्रतिक्रिया