बानिका प्रधान: हिमालयन आइडलदेखि भ्वाइस अफ् बंगालसम्म

 असार १६, २०७५ शनिबार १४:३:१८ | दिलिप कुमार ज्याेति
unn.prixa.net

काठमाडौं – 

थिएन कोही मेरो 
न कसैको चाह थियो
तिमीमा के थियो चाहनाको बाढ उर्लिदियो
थिएन कोही मेरो...
 तिमीले आधार दियौ र प्वाँख फरफराउन खोजे 
 तिमीले अधर दियौ र ओठ थरर्थराउन खोजे
आफ्ना सारा लहरलाई मुटुभरि बाँधेर 
तिम्रो गहिराइमा सबै बिर्सिएर बिलाउन खोजे 
नत्र मेरा जिन्दगीका पाना साह्रा खाली थिए
तिमीमा के थियो चाहनाको बाड उर्लिदियो
थिएन कोही मेरो...

गोपाल योञ्जनको शब्द, संगीत मा गीत गाउने अवसर सबैलाई जुर्दैन । गायनमा खरो उत्रनेले मात्र उनको गीत गाउने मौका पाउँछन् । बानिका प्रधान यीनै थोरै भाग्यमानीमध्येकी एक हुन् जसले मौकालाई अवसरमा परिणत गरिन् ।

सानो परिधिमा खुम्चिएर रहेको उनको गायनलाई गोपाल योञ्जनको यस गीतले नेपाली सांगीतीक क्षेत्रमा पहिचान मात्र नभई स्थापित पनि गरायो । नेपाली सांगीतिक क्षेत्रमा यो बानिकाको ‘डेब्यू’ गीत पनि हो ।

‘थिएन कोही मेरो’

सांगीतिक कार्यक्रमको सिलसिलामा आसाम जाँदै थिइन् बानिका । अचानक (गोपाल योञ्जनकी पत्नी ) रिन्छेन योञ्जनको फोन आयो, ‘हाम्रो नयाँ प्रोजेक्ट ‘गोपालय’ र चलचित्र ‘मेघा’का लागि सेमिक्लासिकल गीतहरु गाउन सक्ने नयाँ कलाकार खोजिरहेका छौँ । तपाईँको गीत सुन्यौँ । स्वर  मन पर्‍यो, एकपटक लाइभ सुन्ने इच्छा छ ।’

बानीका बीच बाटोबाट फर्किन सम्भव थिएन । उनको चार दिनको सांगीतिक यात्रा पहिल्यै तय भैसकेको थियो । ‘आन्टी म तीन–चार दिनपछि मात्र फर्कन्छु मलाई कुर्न सक्नुहुन्छ ?’ रिन्छेनको जवाफ थियो, ‘समय त छैन, दुई दिनमा फर्किन्छौँ हामी । तिमी चाँडै आउ ।’ 

दुई दिनपछि फेरि रिन्छेनको फोन आयो । ‘बानिका म अझै विशेष कामले केही दिन बस्छु तिमी आफ्नो काम सकेर छिट्टै आउनु ’। 

त्यो दिन मेरो स्वर सुन्न काका र दाइ कुरेरै बस्नुभएको रहेछ । मैले त्यो दिन उहाँहरुको अगाडि एकपछि अर्को गर्दै उहाँहरुले नै रोज्नु भएको गीत गाएँ । गितारको रिदममा स्केलमै । उहाँहरु त छक्क पर्नुभयो । त्यो भन्दा अघि मैले सार्वजनिक रुपमा बाजामा कहिल्यै गाएको थिइन् । यसरी सुरु भएको थियो मेरो म्यूजिकल जर्नी ।

दार्जीलिङ आउनेजाने क्रममा रिन्छेन बानिकाको प्रतिभासँग पहिले नै परिचित थिइन् । दार्जीलिङको भायोलिन ग्रुप ‘कार्निबल’ लगायत अन्य वाद्यवादकले ‘गोपालय’ र चलचित्र  ‘मेघा’को प्रोजेक्टमा काम गर्दै थिए ।

आसामबाट फर्किएर कालिङ्गपोङमा रिन्छेनलाई भेट्न पुगिन बानिका । मनोज सेवाले गाएको डमी गीत दिँदै रिन्छेनले भनिन्, ‘प्राक्टिस गरेर आउनु, भोलि बिहान स्टुडियोमा सुन्छौँ हामी ।’ रिन्छेनसँगै गएका थिए चलचित्र ‘मेघा’का निर्माता विकास रौनियार, संगीतकार सचिन सिंह र रजय गुरुङ । बानिका यो गीत गाउन आफ्नो भाग्यले नै जुराएकोे मान्छिन् । 

बानिकाको लागि संगीतको परीक्षा सरह थियो यो गीत । भोलिपल्ट बिहान ‘लेजर लाइन स्टुडियो’मा बानिकाले रिन्छेन र सचिन सिंहको अगाडि यो गीत गाइन् ।

गद्गद भइन् रिन्छेन, उनको गायकीले सचिनको पनि तारिफ पायो ।

बानिकाको गायकीले रिन्छेनलाई खुशी मात्र बनाएन, उनको खोजलाई विश्राम पनि दियो । कारण, यस गीतलाई न्याय गर्न सक्ने कलाकारको खोजीमा रिन्छेनले धेरै जनाको आवाज र गायकी सुनिसकेकी थिइन् ।

‘ल अब तिमी काठमाडौं आउनु पर्छ, रेकर्डिङको लागि । यो गीत तिमीले नै गाउनु पर्छ । अरु गीतमा पनि तिम्रो आवाज सुहाउँछ ।’ यसरी बानिकालाई नेपाली सांगीतीक क्षेत्रले ६९ सालमा रेड कार्पेट बिछ्यायो ।

 

‘थिएन कोही मेरो ’ बाहेक  गोपालयमा अरु चार गीत पनि गाउने अवसर मिल्यो उनलाई ।
 
हुन त यसअघि पनि बानिकाले नेपाली गीत नगाएकी होइनन् । दार्जीलिङमै रहँदा नेपालीसहित विभिन्न भाषाका दुई सयभन्दा बढी गीतहरु उनले स्वरले सजिएका थिए । तर एउटा सानो परिधि भित्रको समुदायगत र क्षेत्रीय गायक मात्र हुँदा उनी निसास्सिएकी थिइन् ।

‘थिएन कोही मेरो ’  बानिकाको नेपाली म्यूजिक इण्डस्ट्री प्रवेशको लागि कोसेढुङ्गा सावित भयो । 

यसअघि बानीका जीवनकै पहिलो गीत रेकर्डिङको लागि सन् २००१ को  सेप्टेम्बरमा दाइ सुरज प्रधानसँग काठमाडौं उत्रेकी थिइन् । तीन दिनको काठमाडौं बसाईमा संगम स्टूडियोमा उनको दुईवटा भजन रेकर्ड भएको थियो । 

आफ्नै परिवारले नचिनेको प्रतिभा 

दार्जीलिङको खर्साङ महकुको ‘लङ भ्यू’ चियाबारीको साधारण मजदुर परिवारमा (बुवा बुद्ध प्रधान र आमा हरिमाया प्रधान) को चौथो तथा कान्छो सन्तानकोे रुपमा जन्मेकी बानिकासँग संगीत अन्तरनिहित बाल्यकालका अनेक किस्सा छन् ।

तीमध्ये यो अलि रोचक छ –दाइ सुरज प्रधान ‘एभरग्रिन अर्केस्ट्रा’सँग आवद्ध थिए । हरेक साँझ बानिकाको घरमा सांगीतिक माहोल छाउँथ्यो । तर नजिकको तीर्थ हेला भनेझैं बानिकाको प्रतिभासँग कोही परिचित थिएन ।

६–७ वर्षको उमेरमै घरनजिकै रहेको श्री सत्यसाई बाल विकासमा भजनको अभ्यास गरेकी थिइन् बानिकाले ।

छिमेकी काका फिरोज लामाले ‘बानीका निक्कै राम्रो गाउँदी रहिछ, स्वर पनि राम्रो । मैले आज उसले भजन गाएको सुने’  भनेर दाइलाई सुनाएपछि मात्रै परिवारले आफ्नो प्रतिभा थाहा पाएको बताउँछिन् बानिका । 
 
बानिका आफ्नो सांगीतिक यात्राबारे भन्छिन्, ‘त्यो दिन मेरो स्वर सुन्न काका र दाइ कुरेरै बस्नुभएको रहेछ । मैले त्यो दिन उहाँहरुको अगाडि एकपछि अर्को गर्दै उहाँहरुले नै रोज्नु भएको गीत गाएँ । गितारको रिदममा स्केलमै । उहाँहरु त छक्क पर्नुभयो । त्यो भन्दा अघि मैले सार्वजनिक रुपमा बाजामा कहिल्यै गाएको थिइन् । यसरी सुरु भएको थियो मेरो म्यूजिकल जर्नी ।’ 

अर्को अरुणा लामाको जन्म

 सन् २००२ मा खर्साङमा जिल्लास्तरीय गायन प्रतियोगितामा गगन गुरुङ र मणिकमल क्षेत्री निर्णायक थिए ।

यतिबेलासम्म  बानिका आफ्नो बस्तीको वरपर राम्रो राम्रो साई भजन र गीत गाउने प्रतिभाको रुपमा परिचित भैसकेकी थिइन् ।

कार्यक्रम उद्घाटनको लागि दीप प्रज्ज्वलनको तयारी हुँदै थियो । संगीत बन्दना गाउनेको अभाव थियो । आयोजकले बानिकालाई स्टेज पछाडिबाट तानपुरामा गणेश बन्दना र गुरु बन्दना सुटुक्क गाउन लगाए । तानपुरामा तालबिनाको यो सुरिलो बन्दनाले गगन गुरुङको मन छोएछ । 

उनले सोचेछन् यो त क्यासेटबाट बजाइएको हो, तर यति राम्रो गायकी कसको हो जिज्ञासा रहिरह्यो । बानिकाले यो प्रतियोगितामा कवि राजा पुनियानीका शब्द र सुमन तोलाङ्गीको संगीतमा ‘एभर ग्रीन अर्केस्ट्रा’को साथमा ‘पीडाको निष्ठुर आँधीमा’  बोलको  गीत गाएकी थिईन । 

आफ्नो सोच अनुसारको वादन ‘एभर ग्रीन अर्केस्ट्रा’ले नगरेको कारण उनी खिन्न थिइन् । ‘म अलि एकोहोरो छु ।  प्राक्टिस गर्दा जस्तो बजायो स्टेज पर्फमेन्समा पनि त्यही चाहिने मलाई । अलिअलि रिस उठिराथ्यो, त्यसैले म घर लागेँ ।’ 

यता गगनले स्वर सुइँको पाइसकेका थिए, दीप प्रज्ज्वलन गर्दा गणेश बन्दना र गुरु बन्दना गाउने बानिका नै हुन भनेर । दुई दिनसम्म चलेको यो प्रतियोगिताको निर्णय आयो । बानिका प्रथम भईन्, तर निर्णयमा उनी उपस्थित थिइन् । निर्णय सुनाउँदै गगन गुरुङले मणिकमल क्षेत्रीलाई भनेका थिए ‘अर्को अरुणा लामाको जन्म भयो ।’  

‘बेलुकी दाइहरुले शिल्ड र कप ल्याएर तँ प्रथम मात्र नभएर प्रतियोगिताकै उत्कृष्ट कलाकार भइस् भनेपछि मेरो गन्तव्य संगीत नै हो भन्ने आभाष भयो’, बानिकाले भनिन् ।

 हिमालयन आइडलदेखि भ्वाइस अफ बंगालसम्म  

सन् २००५मा सिक्किममा भएको हिमालयन आइडलको गाला राउण्डमा कुन्ती मोक्तानको ‘खुट्टा तान्दै गर’ र फाइनल राउण्डमा आशा भोस्लेको ‘साउने झरीमा’ गाएर हिमालयन आइडलको ताज पहिरिन् बानिकाले ।

यो प्रतियोगिताले बानिकालाई शान्ति ठटाल, कर्मा योञ्जन र गगन गुरुङ जस्ता स्रष्टाको सामिप्यता दिलायो ।

सन् २००५मा खर्साङ रेडियोबाट स्वर परीक्षा पास गरेकी बानिकाको सन् २००६ मा आयोजक एस.के भिजन ग्यान्टोकले  सोलो एल्बम ‘हिमालयन आइडल’ बजारमा ल्यायो । यो उनको पहिलो सोलो एल्बम थियो ।

सन् २०११ को इन्डियन आइडलको बम्बे राउण्डसम्म पुगेकी बानिका सन् २०१२ को सारेगममा थिएटर राउण्डसम्म पुगिन् । सन् २०१३ को ‘भारतकी शान सिजन ३’ को पनि अनुभव छ बानिकासँग । यसरी गायनका बिभिन्न प्रतियोगितामा आफूलाई निखारेकी बानिका अन्ततः सन् २०१३ को भ्वाइस अफ बंगालको ताज पहिरिन सफल भइन् ।

फुलटाइम सिङ्गर

 एकदशक अघिसम्म पनि नेपाली सांगितीक क्षेत्रमा गीत गाएरै जीवन निर्वाह गर्न कठिन थियो । गीति संग्रह निकाल्न होस् वा सोलो गीत, आफ्नै गोजी रित्याउनुप¥थ्यो । त्यसमाथि महिला गायिकाको अस्तित्व नगन्य थियो ।

आज यूट्यूब फेसबुकलगायत प्रविधिका विविध आयामले संगीतको परिधि व्यापक भएको छ । एउटा प्रतिभा आज पूर्णकालीन कलाकार भएर बाँच्नसक्ने आधार निर्माण भएको छ ।

‘बर्सिनु बर्‍स्यो साउने झरी’, ‘यति धेरै माया किन’, ‘सबै फूलैफूल’, ‘उड्यो मन (चलचित्र ब्लाइण्ड रक्स)’, ‘दैलोमा सन्यासी’, पूर्णिमाको रात’, ‘घरि–घरि’(चलचित्र रुद्रप्रिया)’, लगायत ‘मायालु आभाष’(रवीन शर्मासँग डोयट) र ‘जानी नजानी’ जस्ता जीवन्त गीतहरु र गीति संग्रह नेपाली सांगीतिक क्षेत्रलाई दिएकी बानिका नेपाली संगीतकी यस्तै एक प्रतिनिधि पात्र हुन् जो पूर्णकालीन गायनमा रमाइरहेकी छिन् । 

नेपाली बाहेक हिन्दी, बंगाली, साद्री, भोजपुरी र माडवारी भाषाका सैंयौ गीतहरुमा स्वर भरेकी बानिकासँग  दिनमा तीनवटा गीतसम्म रेकर्ड गराएको अनुभव छ ।

‘फूलटाइम सिङ्गर हुनुको अर्थ पैसा नै सबथोक होइन । घाँटीलाई आराम पनि चाहियो नि’ उनी भन्छिन्, ‘अफर आए पनि म हिजोआज दिनको एउटा गीत मात्र गर्छु । रेकर्डपछि पनि बेलुकीसम्म त्यही गीतको मेलोडीमा हराउँछु ।’ 

प्रत्येक बिहान एक घण्टा सरगम, सेमिक्लासिकल र लता मंगेशकरका गीतहरुमा आफ्नो गला खेलाउने बानिका रियाजले लामो समयसम्म आवाजलाई बचाउने विश्वास राख्छिन् ।
 

अन्तिम अपडेट: असोज २८, २०७५

दिलिप कुमार ज्याेति

कला मनाेरञ्जनमा कलम चलाउने ज्याेतिलाई फेसबुकमा भेट्न सकिन्छ। 

 

तपाईको प्रतिक्रिया