खाममा दाम बाँड्दै धर्म परिवर्तन गराउने दुई विदेशीसहित पाँच जना पक्राउ

 बैशाख १०, २०७६ मंगलबार १९:३०:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले  मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनुभयाे ।

उनीहरुको साथबाट बा १३ प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री जफत गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताउनु भयो ।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको प्रहरी प्रमुख पान्डेले जानकारी दिनुभयो । अमेरिकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाण्डौलाई चिठी लेखेको उहाँले बताउनु भयो ।

एकपटक भिसा रद्द गरी पठाएमा उनी फेरि नेपाल आउन नपाउने पान्डेको भनाइ छ । होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरुलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको पाइएपछि पक्राउ गरिएको पाण्डेले बताउनु भयो ।

केही दिनअघि दुई जापानी महिला पनि धर्म प्रचारमा हिँडेको भेटिएपछि केरकार गरिएको र प्रमाण नभेटिएपछि छोडिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पछिल्लो समय विदेशीहरु अनलाइन स्टडी भनेर नेपाल आउने र धर्म प्रचारका काममा हिँड्ने गरेको पाइएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया