पुष्पलालको जन्मभूमि भंगेरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

 बैशाख १०, २०७६ मंगलबार १९:४२:४२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – नेपाल कम्युनिष्ट पार्टीले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमि रामेछापको भंगेरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनाउने  र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी काम अघि बढाइएको बताएको छ । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टिकाे ७० औँ स्थापना दिवसको अवसर पारेर मगंलबार पुरानो सदरमुकाम रामेछापमा रहेको पुष्पलाल श्रेष्ठको जन्मस्थानमा जनसभा कार्यक्रममा सहभागी भएका नेताहरुले याे कुरा बताएका हुन् । 

गएकाे लामो समयदेखि केन्द्रीय तहमा नै स्थापना दिवस मनाउँदै आएको यस पार्टीले याे वर्ष भने संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापमा ३ नम्बर प्रदेशको आयोजनामा जनसभाको कार्यक्रम गरेको हो । पार्टी स्थापनाको ७० वर्ष पुगेको अवसरमा कम्युनिष्ट पार्टी ३ नम्बर प्रदेशले पुष्पलालको जन्मभूमि भंगेरीमा जनसभा आयोजना गरेर पार्टी स्थापना दिवस मनाएको छ । 

जनसभालाई सम्बाेधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य एवम् ३ नम्बर प्रदेशका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले पुष्पलाल श्रेष्ठले कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनमा अग्रजहरुको योगदानबाट नेपालीमा निरंकुश शासन सत्ताको अन्त्य भएको बताउनुभयाे । साथै उहाँले कम्युनिष्ट पार्टीले पुष्पलालको विचारलाई अनुशरण गर्दै अघि बढ्नु आजको आवश्यकता भएको भन्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पुष्पलालको विचार लिएर अघि बढ्न आग्रह    गर्नुभयाे ।

त्यसैगरी कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुलेरले कम्युनिष्ट पार्टीको विकासको लागि युवा नेतृत्वलाई अगाडि बढाउनु पर्ने बताउनुभयाे ।

पार्टीमा युवाहरुको आकर्षण नभएसम्म कम्युनिष्ट पार्टी अगाडि बढ्न नसक्ने नेता गजुरेलले बताउनुभयाे । त्यस्तै कार्यक्रममा पार्टीका अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसालले पुष्पलाल श्रेष्ठ लगायतका योद्धाहरुको त्याग र समर्पणका कारण देश विकास र समृद्धिमा अघि बढेको भए पनि उहाँहरुले अघि सारेका लक्ष्यहरु अझै पूरा हुन नसकेको भन्दै दु:ख प्रकट गर्नुभयाे । 

कार्यक्रममा ३ नम्बर प्रदेशका अध्यक्ष नारायण दाहाल र प्रदेशका सचिव आनन्द पोखरेलले नेकपाले पुष्पलालको जन्मभूमि रामेछापको भंगेरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनाउने र पर्यटकीय गन्तव्यको रुपमा विकास अघि सारेको बताए ।

पुष्पलालको जन्मभूमिमा जम्मा भएका नेता तथा कार्यकर्ताहरुले बोल्ने क्रममा पार्टीभित्र एकता हुन बाँकी रहेका संगठनहरुको एकीकरण छिटो सम्पन्न गरी अग्रजहरुको विचारलाई सम्मान गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया