गाैरिकाले आफ्नै रेकर्ड तोडिन्, एकै दिन जितिन् चार स्वर्ण पदक

 बैशाख १०, २०७६ मंगलबार १९:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ मंगलबार दुईवटा राष्ट्रिय कीर्तिमान तोडिएका छन् । प्रतियोगितामा गौरिका सिंह र शुभम श्रेष्ठले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् ।

आर्मीकी गौरिकाले १०० मिटर बटरफ्लाईमा स्वर्ण जित्दा १ मिनेट ७.९७ सेकेण्ड मार्क गरिन् । यसअघि यो विधामा उनले १ मिनेट ८.६३ सेकेण्डको कीर्तिमान थियो । यो विधामा १ मिनेट १४.०७ सेकेण्डमा दूरी पूरा गर्दै आर्मीकै डुवाना लामा दोस्रो र एपीएफकी श्रीबी महर्जन थप सात सेकेण्डले पछि पर्दै तेस्रो भइन् । 

पुरुषको ५० मिटर ब्रेस्ट स्ट्रोकमा एपीएफका शुभमले स्वर्ण जित्दा ३१.६० सेकेण्ड समय लगाए । यसअघि उनको नाममा ३२.०१ सेकेण्डको रेकर्ड थियो । पुलिसका दिपांकर अवाले दोस्रो र प्रदेश १ का बेदज्ञ राज जोशी तेस्रो भए । 

आर्मीकी गौरिका सिंहले कीर्तिमानसँगै चार स्वर्ण हात पारिन् । उनले महिला दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल, एक सय मिटर बटरफ्लाई र चार गुणा एक सय मिटर रिलेको स्वर्ण पनि कब्जा गरिन् । 

पुरुषतर्फको खेलमा एनआरएनएका नाथन दोर्जी शेर्पाले दुई सय मिटर ब्याकस्ट्रोकको स्वर्ण पदक जित्दा नेपाल पुलिसका गौरभ लामाले २०० मिटर फ्रिस्टाइलको स्वर्ण हात पारे ।

एक सय मिटरको फ्रिस्टाइलको स्वर्ण पदक आर्मीका अनुभव सुब्बाले जित्दा चार गुणा एक सय मिटर रिलेको स्वर्ण पदक नेपाल पुलिस क्लबले हात पार्‍यो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया