लोकतन्त्रको जगमा धेरै उपलब्धि हासिल भए पनि नागरिक निराश

 बैशाख ११, २०७६ बुधबार ७:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज वैशाख ११ गते, लोकतन्त्र दिवस मनाइँदैछ । २०६२÷०६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज विभिन्न कार्यक्रम हुँदैछ । २०६३ साल वैशाख ११ गते राती तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । 

पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो । 

संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भएका छन् । 

संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ । संघीय शासन प्रणालीको अभ्यास सुरु भएको छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको चुनाव सम्पन्न भएर जनप्रतिनिधिले काम थालेका छन् । देशमा शान्ति र स्थायित्वको सुरुवात भए पनि समृद्धि र विकासको बाटोमा देश अघि बढ्न नसकेकोमा नागरिक निराश छन् । परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् । 

लोकतन्त्रकै जगमा देशको राजनीति अघि बढिरहेकाले सुशासन र आर्थिक समृद्धिमा ध्यान दिन सरकार र दलहरुलाई दबाब बढेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०७६

तपाईको प्रतिक्रिया