४ पैसा तिरेर धरहरा चढेका लालबहादुर

 बैशाख १२, २०७६ बिहिबार ८:१९:१० | सन्जिता देवकोटा
unn.prixa.net

झापा – ‘काठमाण्डौको नौतले धरहरा, पाए हुन्थ्यो मायाको सहारा... ।’

२०७२ सालको भूकम्प सम्झिँदा धेरैलाई उदित नारायण झा र दीपा झाले गाएको गोर्खाली फिल्मको यो गीत याद आउँछ । सम्झनामा मात्र रहेको धरहराको याद व्यक्तिपिच्छे फरक होला । कतिसँग धरहरा चढेका अनुभव होला त कतिसँग चढ्नै नपाइ भत्कियो भन्ने पछुतो । 

इलामका लालबहादुर राईसँग भने १५ वर्षकाे उमेरमा ४ पैसा तिरेर धरहरा चढ्दाको अनुभव छ ।

सम्झनामा दोलखा र ९० सालको भूकम्प

लालबहादुर ८६ वर्षको हुनुभयो । दोलखा चरिकोटमा जन्मिएका उहाँ कर्म खोज्दै झापा पुग्नुभयो र उतै घरजम गर्नुभयो । तर झापाको बुधबारेमा नेपाली कागज सुकाइरहँदा होस् या चिया बगानमा काम गर्दा होस्, उहाँलाई आफू जन्मेहुर्केको गाउँ चरिकोटको निकै याद आउँछ । 

‘घ्याङखोलामा माछा मार्थ्याैँ हामी, रक्सी खाँदै गाउँ डुल्थ्यौं, गाउँमा दुःख भए पनि रमाइलो यहाँभन्दा त्यतै थियो,’ लालबहादुरलाई अझै ती दिनको याद आउँछ । 

चामलको भात खान पाइने आशमा तराई बसाईं सरेदेखि गाउँको ढिँडो र भुटेको मकैको यादले खुब सताउँछ उहाँलाई । लालबहादुरलाई हिजोआज लाग्छ ‘अब त गाउँमा पनि त्यो बेलाको जमानमाझैं ढिंडो मस्काएर खाँदैनन् ।’

हिजोआज जमाना फेरियो । रहेका पुराना केही यादहरु पनि भूकम्पले ढालिदियो भन्नुहुन्छ लालबहादुर । 

‘भूकम्प जानुअघि त मेरो गाउँमा हाम्रो पालाका घरहरु थिए, भूकम्पले त्यो पनि भत्काइदियो,’ लालबहादुर दुःख मान्दै भन्नुहुन्छ, ‘बाँकी त हामी मात्रै छौं अब ।’

२०७२ सालको भूकम्पको कुरा गर्दा ९० सालको भूकम्पलाई पनि सम्झनुभयो, लालबहादुरले । आमाबुवाले सुनाएको ९० सालको भूकम्पको कथा लालबहादुरको दिमागमा गढेर बसेको छ । ९० सालमा भुइँचालो जाँदा उहाँ तीन महिनाको मात्र हुनुहुन्थ्यो ।

‘९० सालमा जमिन काँप्दा धामी र लामाले पनि भूकम्प हो भनेर थाहा पाएनछन्, भूत आयो भनेर सब धामी र लामा जति जम्मा भएका थिए रे, पारी डाँडाबाट ढुङ्गा लडेको देखेपछि पो भूकम्प भन्ने थाहा भएछ,’ ९० सालको भूकम्पका कुरा सुनाउँदा उहाँ निकैबेर हाँस्नुभयो । 

हाँस्दै लालबहादुरले सोध्नुभयो, ‘अहिले त धरहरा पनि सबै ढल्यो रे भूकम्पले हैन ?’ तन्नेरी छँदा ४ पैसा तिरेर धरहरा चढ्दाको आनन्द पनि सम्झनुभयो लालबहादुरले । 

लालबहादुर ४ पैसा तिरेर धरहरा चढ्दा काठमाण्डौ अहिलेको जस्तो थिएन । खुल्ला थियो । उहाँलाई त्यो बेला धरहराको टुप्पोमा चढेर नियाल्दा काठमाण्डौ एउटा खुल्ला चौर हो झैं लागेको थियो । तर त्यो सम्झना पाको भयो । लालबहादुरको उमेर जस्तै ।

बाँचेको उमेरको फेरो लामो भइसक्यो । उमेरले उकालो चढिसक्यो । तर यो उकालो चढेको जीवनको फेद उस्तै ताजा छ लालबहादुरको मनमा ।

‘९० सालको भूकम्प जाँदा तीन महिनाको थिएँ रे,’ लालबहादुरले उमेरको हिसाब लगाउनुभयो । 

‘८६ वर्षको हुनुभएछ, यो उमेरमा पनि काम गर्नु हुँदोरहेछ, काम गर्न गाह्रो हुँदैन त ?’ मेरो कुरा भुइँमा खस्न नपाउँदै लालबहादुर चर्किनुभयो, ‘काम नगरी त कसले खान दिन्छ र, काम गर्नु परेन ?’

८६ वर्षको उमेरमा पनि काम गर्नुपर्ने उहाँका आफ्नै बाध्यता र रहर छन् । जीवन चलाउन बुढेशकालमा मात्र हैन तन्नेरी उमेरमा पनि लालबहादुरले दोलखाका उकाली ओरालीदेखि तराईका सम्म परेको फाँटमा थुप्रै हिँड्नुभएको छ ।

उमेर पाकिसक्यो । अनुहारको नापनक्सा फेरबदल भए । भरिलो अनुहार चाउरियो, नाडीको दम घट्दैछ । दिनभरी काम गर्‍यो, रातभरी शरीर दुख्छ । 

तर पनि लालबहादुरको मनमा दम छ । केही गर्न सक्छु भन्ने आँट पनि । र त ८६ वर्षको उमेरमा पनि उत्तिकै जोश र जाँगरका साथ नेपाली कागज उद्योगमा काम गरेर आफ्नो लागि खर्चको जोहो आफैं गरिरहनुभएको छ, लालबहादुर ।

दोलखादेखि झापासम्म

टाउकोमा कालो टोपी । टिसर्ट बाहिर कमिज । चुच्चो नाक । अनुहारका छाला चाउरिएको । जीउ पनि केही कुप्रिसकेको । तर आवाजमा भने दम छ लालबहादुरको । 

दोलखाको चरिकोट हो उहाँको पुख्र्यौली घर । जहाँ उहाँका दाजुभाइ बस्छन् । लालबहादुर पनि चरिकोटमै हो जन्मेहुर्केको । 

तिथिमिति सम्झनुहुन्न । ६ वटै छोराछोरी जन्मिएपछि झापा बसाईं सर्नुभयो । ‘मेरो घर त दोलखा हो नानी, यहाँ त चामलको भात खान पाइन्छ भनेर गाउँ छाडेर आएको हुँ,’ जन्मेहुर्केको गाउँ छाडेर तराई झर्नुको कारण यही हो लालबहादुरको ।

अघिपछि कहिल्यै आइनपुगेको ठाउँ । झापाको झापा बजार बिल्कुलै फरक थियो, दोलखाको गाउँभन्दा । 

झापा बजारमा घरबार बसाल्नुभयो । तर उहाँले दोलखाबाट झरेर बसालेको नयाँ घर बाढीले बगाइदियो । घर र खेतमा बढी पसेर केही बाँकी रहेन । गाईबस्तु मान्छे चाहिँ मुश्किलले बाँचें । 

‘त्यस्तो बाढी आउने ठाउँमा त कसरी बस्ने,’ लालबहादुर भन्नुहुन्छ, ‘त्यसपछि यता आएको हो ।’ झापाबजारबाट बुधबारे बसाईं सरेपछि भने लालबहादुरसहित परिवारले नै चिया बगानमा काम थाले । 

चिया बगानको दिनचर्या : काम धेरै, दाम थोरै

लालबहादुरले त्यसअघि चियाको बोट पनि देख्नुभएको थिएन । काम कस्तो हुन्छ भनेर त कसरी जान्नु र । तर पनि आपतमा परेका बेला बल्लबल्ल पाएको काम गर्नु थियो । 

‘चिया बगानको काम, दुःख धेरै, दाम थोरै,’ आफ्नो सिङ्गो जीवन बितेको कामलाई लालबहादुर हिजोआज यसरी सम्झनुहुन्छ ।

२० वर्षभन्दा धेरै समय लालबहादुरले चियासँगै बिताउनुभयो । चियाका मुना हुर्काउनेदेखि बुढा भएका बोटलाई टुक्र्याउनेसम्मको काम गर्नुभयो । 

बगानमा काम गर्दा दुःख धेरै गर्नुपर्ने, तर कमाई एकदमै थोरै । ‘चियाका बोट काट्दाकाट्दै हातभरी ठेला हुन्थ्यो, तर पैसा भने जम्मा डेढ रुपैयाँ’ लालबहादुर सम्झनुहुन्छ । त्योबेला बगानको काम सबै हातैले गर्न पथ्र्यो । अहिलेजस्तो प्रविधि भित्रिएको थिएन । 

टिप्न भन्दा पनि चियाका बोटहरु काट्दा असाध्यै गाह्रो हुन्थ्यो । लालबहादुर भन्नुहुन्छ, ‘अहिले पो मेसिनले सजिलो बनाइदियो, त्योबेला त हाम्रो हातै मेसिन हो, उठेका ठेला अझै मरेको छैन ।’

लालबहादुरले चिया बगानमा काम गर्दाको सुखदुःख सुनाइरहँदा छेवैमा काम गरिरहनुभएकी लालमाया  (लालबहादुरकी श्रीमती)ले नजिकै आउनुभयो र भन्नुभयो, ‘काम गरे अनुसारको कमाइ पनि भएको भए त यो बुढेशकालमा किन पो दुःख गरिरहन पथ्र्यो होला र !’

‘पहाडमा भात खान नपाइने भनेर आइहालियो अनि दुःख नगरेर भयो त’ लालमाया भन्नुहुन्छ, ‘पैसा त कहिले चार आना, कहिले आठ आन आउँथ्यो नि दिनमा ।’ टाउको छाम्दै लालमायाले चियाको भारी बोक्दा नाम्लोले बनाएको डाम देखाउनुभयो । 

सुखदुःख चिया बगानमै काम गरेर जीवन बित्यो । ५५ वर्ष लागेपछि गह्रांै काम गर्न सक्नुभएन । त्यसपछि बगान र त्यो कामलाई बिट मार्नुभयो ।

चिया बगानको कामबाट बिदा लिए पनि लालबहादुर दम्पती चुप लगेर बस्नुभएन । ‘काम नगरी बस्न एक त मनले मान्दैन, घरमा बसीबसी खानलाई कसले दिन्छ र ?’ लालबहादुर भन्नुहुन्छ ‘फेरि बुढेशकाल लाग्यो भनेर बसीबसी खान पनि भएन, काम गर्‍यो भने स्वस्थ्य भइन्छ ।’

हुन पनि ८६ वर्ष लागेका लालबहादुरको आवाजले उहाँले भनेजस्तै शरीर स्वस्थ भएको झल्को दिन्थ्यो । हरेक कुरा कड्किएर सुनाउने लालबहादुरको बोली र आँट सुन्दा लाग्छ, उहाँ ५० कट्नुभएकै छैन । बुढेशकालको सुखदुःख सुनाइरहँदा लालबहादुरले तन्नेरी छँदाका दिनहरु पनि सम्झनुभयो । 

आफ्नै कमाइले गुजारा

अहिले पनि आफ्नो लागि आफैं कमाउनुहुन्छ लालबहादुर । झापाको बुधबारेमै रहेको नेपाली कागज उद्योगमा कागज सुकाउने, उठाउने लगायत हलुका खालका काम गर्नुहुन्छ । 

लालबहादुर मात्र हैन, ७४ वर्ष लागेकी उहाँकी श्रीमती लालमाया पनि उद्योगमा सँगै काम गर्नुहुन्छ । 

काम जति गर्न सक्यो उति कमाइहुन्छ, उद्योगमा । पहिले चिया बगानमा जस्तो निश्चित तलब हुँदैन । लालमायालाई जीवनमा गरेका काममध्ये सबैभन्दा सजिलो काम कागज उद्योगकै लागेको छ । 

‘उद्योगमा मरिकुच्चे भारी बोक्नु पथ्र्यो, यहाँ त्यस्तो छैन, सबैभन्दा सजिलो काम यही हो,’ लालमाया भन्नुहुन्छ ।

लालबहादुरका पाँच छोरी एक छोरा हुन् । एक छोरी त त्यही उद्योगमा काम गर्छिन् । कान्छी छोरी उनीहरुसँगै बस्छिन् । उनको आफ्नै इलम छ । लालबहादुर दम्पतीले घरमा कुखुरा बाख्रा र गाई पनि पालेका छन् । कागज उद्योगको कामसँगै बस्तुभाउको पनि हेरचाह गर्छन् ।

लालबहादुर र लालमाया एकै स्वरमा भन्नुहुन्छ, ‘चाडवाडका बेलामा छोराछोरी आउँछन्, उनीहरुलाई बुझाउन पर्‍यो, खुवाउन पर्‍यो अनि नगरेर हुन्छ त काम ?’

कागज उद्योगबाट महिनाको १२ देखि १५ हजार रुपैयाँसम्म कमाई हुन्छ । काम गर्दा दाम मात्रै हैन ज्यान पनि स्वस्थ हुन्छ भन्ने लाग्छ दुवैलाई । तर बुढो हड्डी चिसोतातो नमिल्दा भने रातभरी निदाउन नसक्ने गरी दुख्छ । 

‘यो उमेरमा पनि आफैले काम गरेर खान पाएका छौं, दुःख भन्दा पनि खुशीको कुरा हो नि यो त,’ लालबहादुर हाँस्दै भन्नुहुन्छ, ‘उमेर जे भए पनि सकुञ्जेल आफ्नो लागि आफैं काम गर्नुपर्छ ।’ 

अन्तिम अपडेट: जेठ १७, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया